मलेसियामा जेल जीवन बिताइरहेका २५ नेपालीको जेलबाटै उद्धार गरि स्वदेश फर्काइयो।

क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) को आर्थिक सहयोग र मलेसिया स्थित नेपाली दूतावासको आर्थिक , भौतिक , कानुनी सहयोग समन्वयमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरि स्वदेश फर्काइएको छ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन विताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन्।

यसरी घर फर्किनेमा सप्तरीका ३८ वर्षीय राजकुमार साह, भूपेन्द्र भण्डारी, हिमानचल मौरिया, ओके कुमार यादव, टिकाराम प्रजा, पारसनाथ यादव, कर्णबहादुर तामाङ, हृदेश केवत, राजकुमार साह, कृष्णकुमार मण्डल, कैमुल्ला मिया, राजकुमार माझी, कर्णबहादुर पुन, बेलबहादुर थामी, पूर्णबहादुर सुनारी, आशबहादुर कामी, बाबुराम थापा, दिशन सुनार, सन्जय कुमार यादव, जगलाल तामाङ, रामनाथ पण्डित, सपना तामाङ, जुनु माया बोम्जन, बलन राई र छत्रबहादुर न्यौपानेलाई जेलबाट उद्धार गरी २५ जना नेपालीलाई नेपाल फर्काइएको हो।

सन् २०१८ को २९ जुलाइमा उच्च अदालतले राजकुमारसहित मलेसियाका अन्य दुई व्यक्तिलार्ई ‘लागूऔषध’ कारोवारमा दोषी ठहर गर्दै जेल सजायको फैसला सुनाएको थियो। उच्च अदालतले लामो समयसम्म जेल सजाय सुनाएपछि मलेसियास्थित नेपाली दूतावासको आर्थिक र अन्य कानुनी सहयोगमा राजकुमारले माथिल्लो अदालतमा पुनरावेदन गरेका थिए। संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्धार कोषको कार्यक्रममार्फत ती नेपालीलाई जेलबाट छुटाएर स्वदेश फर्काइएको हो।

क्वालालम्पुरस्थित नेपाली दूतावासले उनीहरुको स्वदेश फिर्तीका लागि एनआरएनए संगै विभिन्न संघसंस्थासंग विशेष समन्वय गरेका थिए। संघले हवाई टिकट किनिदिएर सहयोग गरेका हुन भने दूतावासले जरिवाना तिरेर जेलबाट छुटाउने, कागजी प्रक्रिया मिलाउने र ट्राभल डकुमेण्ट बनाएर पीसीआर परीक्षण गरेपछि उनीहरु स्वदेश फर्कने बाटो खुलेको थियो।

नेपाल फर्किएकाहरुलाई संघका स्वयंसेवकले विमानस्थलमै पुगेर रिसिभ गरेका थिए । बेखर्ची भएर आएका उनीहरुलाई आ-आफ्ना गन्तब्य,घरसम्म पुर्‍याउन एनआरएनएले नै यातयात खर्च उपलब्ध गराएको संघले जनाएको छ।