मलेसियाको जोहोरमा राष्ट्रिय झण्डा उल्टो फहराएको आरोपमा नेपाली सुरक्षागार्डसहित दुई जना पक्राउ।

जोहोर (मलेसिया):= मलेसियाको जोहोर राज्यमा राष्ट्रिय झण्डा र राज्यको झण्डा उल्टो फहराएको आरोपमा एक स्थानीय नागरिक र एकजना नेपाली सुरक्षागार्डसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जोहोरको कुलईस्थित इन्दहपुरा औद्योगिक क्षेत्रमा रहेको एक कारखानाको अगाडि मलेसियाको राष्ट्रिय झण्डा र जोहोर राज्यको झण्डा उल्टो झुण्ड्याइएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ४८ वर्षीया मलेसियन महिला३४ वर्षीय नेपाली सुरक्षागार्ड रहेका छन्। प्रारम्भिक अनुसन्धानमा महिलाले झण्डा उल्टो राख्न निर्देशन दिएको र नेपाली सुरक्षागार्डले उक्त निर्देशनअनुसार झण्डा स्थापना गरेको आरोप छ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै कुलई मजिस्ट्रेट अदालतले दुवै जनालाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीहरूमाथि राष्ट्रिय प्रतीकको दुरुपयोग, शान्ति भंग गर्ने प्रयास तथा सञ्चार सञ्जालको दुरुपयोगसम्बन्धी कानुनी प्रावधानअन्तर्गत अनुसन्धान भइरहेको जनाइएको छ।

यसैबीच, पक्राउ परेका नेपाली सुरक्षागार्डसँग मलेसियामा बस्नका लागि आवश्यक वैध यात्रा कागजात (Valid Travel Documents) भिसा नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनीमाथि अध्यागमनसम्बन्धी कानुनअन्तर्गत समेत थप अनुसन्धान अघि बढाइएको छ।

घटनापछि सम्बन्धित कारखानालाई स्थानीय प्रशासनले पहेँलो टेप लगाएर अस्थायी रूपमा बन्द गराएको छ।मलेसियामा अगस्ट महिनालाई ‘मर्डेका महिना’ (Merdeka Month) का रूपमा मनाइँदै आएको छ। यस अवधिमा राष्ट्रिय झण्डा सम्मानपूर्वक फहराउने परम्परा रहेकाले झण्डा उल्टो राखिएको घटनालाई अधिकारीहरूले गम्भीर रूपमा लिएका छन्।

स्रोत: स्थानीय मलेसियाली सञ्चारमाध्यम