मलेसिया रोजगारीमा २५ कम्पनीको नेतृत्वमा २५५ म्यानपावरको नाम सार्वजनिक, फेरि चर्कियो विवाद।

काठमाडौं:= मलेसिया रोजगारीका लागि प्रयोग हुँदै आएको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) प्रणालीसँग जोडिएका म्यानपावर कम्पनीको संरचनालाई लिएर नयाँ विवाद सतहमा आएको छ। प्रत्येक २५ वटा म्यानपावर कम्पनीसँग थप १०–१० वटा म्यानपावर कम्पनी जोडिएर एफडब्लुसिएमएस प्रणालीमा जम्मा २५० म्यानपावर कम्पनीको नाम सार्वजनिक गरिएको छ ।

मलेसिया रोजगारीमा २५५ कम्पनीको नाम सार्वजनिक हुनु वास्तवमै खुला प्रतिस्पर्धाको संकेत हो, कि २५ कम्पनीलाई केन्द्र बनाएर बाँकी कम्पनीलाई उनीहरूको ‘अन्डर’मा राख्ने नयाँ संरचना ? सार्वजनिक गरिएको विवरणअनुसार २५ वटा मूल कम्पनीको मातहतमा थप १०–१० वटा कम्पनीलाई जोडिएको देखाइएको छ । यसरी एउटा कम्पनीसँग १० वटा कम्पनी जोड्दा २५ समूहमा २५५ म्यानपावर कम्पनीको संरचना देखाइएको हो ।

२५ कम्पनीको नेतृत्वमा २५५ को संरचना ?

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्र पहुँच दिने विषय यसअघि नै विवादमा रहँदै आएको थियो । अहिले सार्वजनिक भएको २५५ कम्पनीको नामावलीले त्यसै विवादलाई थप पेचिलो बनाएको छ । दाबीअनुसार २५ वटा कम्पनीलाई मुख्य केन्द्रमा राखेर प्रत्येकको अन्डरमा १०–१० वटा कम्पनी जोडिएको संरचना बनाइएको छ ।

यदि यस्तो संरचना औपचारिक रूपमा लागू भएको हो भने मलेसियाको रोजगारी बजारमा प्रत्यक्ष रूपमा कति कम्पनीले निर्णयात्मक पहुँच पाउनेछन् र बाँकी कम्पनीको भूमिका के हुनेछ भन्ने प्रश्न उठेको छ । विशेषगरी एउटै समूह वा कम्पनीको प्रभावमा धेरै म्यानपावर कम्पनीलाई परिचालन गर्ने व्यवस्था भए त्यसले प्रतिस्पर्धा सीमित पार्ने र रोजगारीको पहुँच केही व्यवसायीको नियन्त्रणमा पुग्ने जोखिम रहने व्यवसायीहरूको भनाइ छ ।

सिण्डिकेट होइन भने संरचना किन ?

मलेसिया रोजगारीमा ‘सिण्डिकेट’ स्वीकार्य नहुने भन्दै नेपालका वैदेशिक रोजगार व्यवसायीहरूले पटक–पटक आवाज उठाउँदै आएका छन् । तर २५ वटा कम्पनीको नेतृत्वमा थप कम्पनी जोडिएको सूची सार्वजनिक भएपछि व्यवसायीबीच फेरि प्रश्न उठेको छ– यो सामान्य व्यावसायिक सहकार्य हो कि सीमित समूह बनाएर बजार नियन्त्रण गर्ने प्रयास ?

यद्यपि सार्वजनिक गरिएको नामावली मात्रका आधारमा ती कम्पनीहरू सिण्डिकेटमा संलग्न छन् भनेर निष्कर्ष निकाल्न मिल्दैन। त्यसका लागि एफडब्लुसिएमएसको आधिकारिक संरचना, सम्बन्धित मलेसियाली निकायका निर्णय तथा कम्पनीहरूबीच भएको वास्तविक सम्झौता वा सहकार्यको प्रकृति पुष्टि हुन आवश्यक छ ।

२५५ म्यानपावरको नाम सार्वजनिक भइसकेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले यसको वास्तविकता स्पष्ट पार्नुपर्ने आवाज उठ्न थालेको छ । मलेसिया रोजगारी नेपाली म्यानपावर व्यवसायीका लागि महत्वपूर्ण बजार हो । त्यसैले सीमित कम्पनीलाई मात्र विशेष पहुँच दिने कुनै पनि व्यवस्था भए त्यसले व्यवसायीबीच असमानता सिर्जना गर्ने चिन्ता बढेको छ । यसको जवाफ सम्बन्धित कम्पनीभन्दा बढी नेपाल सरकार र मलेसियाली पक्षबाट औपचारिक रूपमा आउनुपर्ने देखिन्छ । समाचार स्रोत : मुलपत्र ड्टकम अनलाइन
m1

m2

m3

m4

मेनपावरहरुको सूचि तलको लिंकमा हेर्न सकिने छ ।

Affiliates – FWCMS®