क्वालालम्पुर (मलेसिया) := मलेसियामा सामाजिक सञ्जाल फेसबुकमार्फत ‘दैवी ४डी नम्बर’ उपलब्ध गराइदिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय भएको छ। यस्तै ठगीमा परी केलाङका एक ६५ वर्षीय अवकाशप्राप्त वृद्धले ३ हजार २५० मलेसियन रिंगिट गुमाएका छन्।
प्राप्त विवरणअनुसार, ती वृद्ध नक्कली भिक्षुको प्रलोभनमा परेका थिए। दैवी शक्ति र विशेष विधिबाट चिठ्ठामा ठूलो रकम जित्ने नम्बर उपलब्ध गराइदिने आश्वासन दिएपछि उनले ठगहरूको विश्वास गरेका थिए। ठूलो रकम जित्ने लोभमा उनले आफ्नै घरका गरगहनासमेत धितो राखेर ठगहरूलाई रकम बुझाएको बताइएको छ।
फेसबुकमा चिठ्ठा पर्ने नम्बर, तन्त्रमन्त्र तथा दैवी शक्तिबाट भाग्यशाली नम्बर उपलब्ध गराइदिने भन्दै विभिन्न विज्ञापन र सन्देश पठाएर ठगी गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
प्रहरीले अपरिचित व्यक्तिले सामाजिक सञ्जालमार्फत पठाउने यस्ता प्रलोभनपूर्ण प्रस्तावमा विश्वास नगर्न, कुनै पनि रकम अग्रिम भुक्तानी नगर्न र छिट्टै धनी बन्ने लोभमा नपर्न चेतावनी दिएको छ।
मेहनतको कमाइ र घरपरिवारको सम्पत्ति जोगाउन यस्ता शंकास्पद गतिविधिबाट टाढा रहन तथा ठगीको आशंका भएमा तत्काल प्रहरीलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ।




















