अध्यागमन नियम उल्लङ्घन गर्ने ७ नेपालीसहित ९० विदेशी नागरिक मलेसियाबाट डिपोर्ट।

क्वालालम्पुर (मलेसिया):= मलेसियाले अध्यागमन नियम उल्लङ्घन गर्ने विदेशी नागरिकविरुद्ध कडा कदम चाल्दै ७ नेपालीसहित ९० जना विदेशी नागरिकलाई स्वदेश फिर्ता गरेको छ।

मलेसियाको जोहोरस्थित पेकान नानास अध्यागमन नजरबन्द डिपोले मे महिनाको दोस्रो सातामा विभिन्न देशका नागरिकलाई डिपोर्ट गरिएको जानकारी दिएको हो। अध्यागमन विभागका अनुसार नियमविपरीत बसोबास, काम तथा अन्य अध्यागमन सम्बन्धी उल्लङ्घनमा संलग्न भेटिएका विदेशी नागरिकलाई सम्बन्धित देश फर्काइएको हो।

डिपोर्ट हुनेमा ३१ जना म्यानमारका नागरिक, २५ जना बंगलादेशी, १५ जना पाकिस्तानी, ७ जना नेपाली, ५ जना भियतनामी, २ जना चिनियाँ र २ जना कम्बोडियाली नागरिक रहेका छन्। साथै फिलिपिन्स, सिंगापुर र थाइल्याण्डका १/१ जना नागरिक पनि डिपोर्ट गरिएको विभागले जनाएको छ।

उनीहरूलाई केयलआईए १ , केयलआईए २ , एलटिए सेनाई तथा सुल्तान इस्कन्दर भवन कम्प्लेक्समार्फत सम्बन्धित देश पठाइएको बताइएको छ। अध्यागमन विभागका अनुसार डिपोर्ट गरिएका सबैसँग वैध राहदानी रहेको थियो भने केहीलाई सम्बन्धित दूतावासमार्फत Emergency Travel Document उपलब्ध गराइएको थियो।

डिपोर्ट गरिएका सबै विदेशी नागरिकलाई मलेसियाको अध्यागमन प्रणालीमा Blacklist समेत गरिएको छ। अब उनीहरूले तोकिएको अवधिसम्म पुनः मलेसिया प्रवेश गर्न पाउने छैनन्। मलेसियाले पछिल्लो समय अवैध बसोबास तथा अध्यागमन नियम उल्लङ्घन गर्ने विदेशी नागरिकमाथि निगरानी र कारबाहीलाई थप कडाइ गर्दै आएको छ।