चीनले बनाएको कृत्रिम सूर्यमा वास्तविक सूर्यभन्दा पाँच गुणा बढी गर्मी।

एजेन्सी बेजिंग:= चीनले कृत्रिम सूर्य बनाएको छ, यो त हामी सबैलाई थाहा भएकै कुरा हो । यो सूर्यले लगातार आफ्नो अधिकतम तापमान प्रदर्शन गरिरहेको छ । यो बनाउनुको उद्देश्य चीनको ऊर्जाको आवश्यकतालाई क्लिन इनर्जीका रूपमा पूरा गर्नु भनिएको छ । हालै यो कृत्रिम सूर्यले असली सूर्यको तुलनामा पाँच गुणा धेरै तापमान हासिल गरेको छ । यो पाँच गुणा तापमान १७ मिनेटसम्म रहेको बताइएको छ ।

यो अहिलेसम्मकै धेरै समयसम्म गर्मी उत्पादन गर्ने पहिलो प्रदर्शन हो । यो कृत्रिम सूर्यको नाम ‘इस्ट’ राखिएको छ । न्युज एजेन्सी सिहृवाका अनुसार यो सूर्यले हालै १०५६ सेकेन्डसम्म सात करोड डिग्री सेल्सियसको तापमान बनाइराखेको थियो । जुन सूर्यको तापमानभन्दा पाँच गुणा धेरै हो ।

योभन्दा पहिला २०२१ मे महिनामा यो कृत्रिम सूर्यले १०१ सेकेन्डका लागि १२ करोड डिग्री सेल्सियसको तापमान पैदा गरेको थियो । तर, यसको समय धेरै कम थियो । असली सूर्यको केन्द्रमा जो तापमान हुन्छ, त्यो करिब १.५० डिग्री सेल्सियस हो । तर, चीनमा बनेको कृत्रिम सूर्यले दुईपटक नै असली सूर्यको तापमानलाई पछाडि छोडेको छ ।

चाइनिज एकेडेमी अफ साइन्सेसको इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सका अनुसन्धानकर्ता र यो प्रयोगका नेतृत्वकर्ता वैज्ञानिक गान्ग जियान्जुले भन्नुभएको छ, ‘हालै गरिएको परीक्षणले मजबुत वैज्ञानिक डाटा दिएको छ । यसका आधारमा हामीले यसलाई लामो समयसम्म चलाएर ऊर्जा पैदा गर्न सक्छाँै ।’ वैज्ञानिकहरूले न्युक्लियर फ्युजनबाट ऊर्जा निकाल्न धेरै वर्षदेखि प्रयास गर्दै आएका थिए ।

हाइड्रोजनको एटमिक कणहरूको फ्युजन गरेर अत्यधिक दबाब र तापमानमा हिलियम बनाउने प्रक्रिया यो कृत्रिम सूर्यमा गरिएको छ । यही प्रक्रिया हाम्रो सूर्यमा पनि हुने गर्दछ । यहीँबाट निस्कने ऊर्जा प्रकाश र गर्मीमा परिणत हुने गर्दछ । यो प्रक्रियाबाट हामी लामो समयसम्म ऊर्जा प्राप्त गर्न सक्छौं ।