काठमाडौं:= प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच ओलीनिवासमा भएको वार्ता सकिएको छ । दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको थियो ।
एमालेले प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध गरिराखेको छ । अवरोध हटाउने विषयमा सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुग्नु भएको थियो। हिजो बसेको सत्ता गठबन्धनको बैठकले समेत एमाले अध्यक्ष ओलीसंग वार्ता गरेर समस्या सुझाउने निर्णय गरेको थियो ।
दुई नेता बीचको भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको बताउनु भयो । भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग माग्नुभएको बुझिएको छ।




















