काठमाडौं:= नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायमैत्री ऐन नियम जारी नभए महासंघ आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ । महासंघ एसोसिएट सदस्य समन्वय कार्यसमितिको १० आंै साधारण भेलालाई राजधानीमा सम्बोधन गर्नेक्रममा उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
खरिद ऐन संशोधनको अन्तिम प्रक्रियामा रहेको अवस्थामा त्यसलाई पूर्ण व्यवसायीमैत्री बनाउन महासंघ नेतृत्वले इमान्दार प्रयास गरिरहेको उहाँको भनाइ छ । महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष रमेश शर्माले निर्माण उद्योगलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको इमान्दार प्रयास आवश्यक हुने बताउनुभयो । लो बिडिङका कारण निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै उहाँले नीतिगतरूपमै लो बिडिङ अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
महासंघका अर्का सल्लाहकार तथा पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले निर्माण उद्योगमा धेरै चुनौती देखिएको अहिलेको अवस्थामा पेशागत हकहितका लागि सबै एक हुनुपर्ने बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले विभिन्न समस्यासँग जुध्दै नेपालका निर्माण व्यवसायीले उत्कृष्ट काम गरिरहेको दाबी गर्नुभयोे ।
महासंघ एसोसिएट सदस्य समन्वय कार्यसमितिका संयोजकसमेत रहनुभएका महासंघका उपाध्यक्ष आङदोर्जी लामा (एडी) ले महासंघको विकास विस्तारमा एसोसिएट सदस्यको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । महासंघका महासचिव रोशन दाहालले एसोसिएट सदस्य महासंघको ‘मुटु’ भएको बताउनुभयो ।
एसोसिएट सहसंयोजक रामजी पन्त ‘मुकेश’ ले व्यावसायिक एकता आजको आवश्यकता भएको बताउनुभयो । भेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं कार्यान्वयन समिति अध्यक्ष इन्जिनियर केशवकुमार शर्माले बोलपत्रमा लो-बिड तथा बिमा विज्ञ इन्जिनियर जगन्नाथ गौतमले निर्माण उद्योगमा बिमा विषयक प्रस्तुति गर्नुभएको महासंघले जनाएको छ ।




















