स्पेनिस ला लिगा : एट्लेटिको म्याड्रिडको सानदार जित।

म्याड्रिड:= साबिक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३-० गोलले हरायो ।

एट्लेटिकोको जितमा यान्निक कारास्को र जोआओ फेलिक्सले गोल गर्नुभयो । एट्लेटिकोले अर्को गोल आत्मघाती उपहार पाएको थियो । यान्निक कारास्कोले २६औं मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । उहाँले एन्जल कोरेआको पासमा गोल गर्नुभएको थियो ।

पहिलो हाफमा १-० को अग्रता लिएको एट्लेटिकोले ६३औं मिनेटमा आत्मघाती गोलको सहयोगमा अग्रतालाई दोब्बर बनायो । बल बचाउनेक्रममा बेटिसका जर्मन पिज्जेलाको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । ८०औं मिनेटमा जोआओ फेलिक्सले यान्निक कारास्कोको पासमा गोल गर्दै एट्लेटिकोलाई सानदार जित दिलाउनुभयो ।

बल पोसेसनमा अब्बल देखिएको बेटिसले गोलरहित हार खेप्यो । ५३ प्रतिशत बल पोसेसनमा राखेको बेटिसले आठवटा पोस्ट प्रहार गरेको थियो । तर, बेटिसले एट्लेटिकोको रक्षापंक्ति चिर्न सकेन । एट्लेटिकोका मिडफिल्डर यान्निक कारास्को ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

जितसँगै एट्लेटिको चौथो स्थानमा उक्लिएको छ । ११ खेल सकेको एट्लेटिकोको २२ अंक छ । पराजित बेटिस २१ अंकसहित पाँचौं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल सोसिडाडको १२ खेलबाट २५ अंक पुगेको छ ।

आइतबार राति नै भएको खेलमा रियल सोसिडाड १० खेलाडीमा समेटिएको एथलेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकियो । सोसिडाडका लागि अलेक्जेन्डर इसाकले गोल गर्नुभयो । बिल्बाओका इकर मुनियनले बराबरी गोल फर्काउनुभयो ।

घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सोसिडाडले सुरुवाती अग्रता लिएको थियो । ५८औं मिनेटमा अलेक्जेन्डर इसाकले पेनाल्टीमार्फत् गोल गर्नुभयो । त्यसपछि ८४औं मिनेटमा इनिगो मार्टिनेज (दोहोरो पहेंलो) रातो कार्ड पाउँदै बाहिरिएपछि बिल्बाओ १० खेलाडीमा समेटियो । तर पनि इन्ज्युरी समयमा इकर मुनियनले गोल गर्दै बिल्बाओलाई हारबाट जोगाउनुभयो । सोसिडाडका माइकल मेरिनो ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

बराबरीसँगै शीर्षस्थानमा उक्लिएको सोसिडाडले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई एक अंकले पछि पारेको छ । रियलको ११ खेलबाट २४ अंक छ । तेस्रो स्थानमा रहेको सेभियाको पनि २४ अंक छ । १८ अंक बनाएको बिल्बाओ आठौं स्थानमा उक्लिएको छ । अर्को खेलमा गेटाफेले स्पान्योललाई २-१ गोलले पराजित गरेको छ । क्याडिज र मालोर्काले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।