केपी ओली राजसंस्था फर्काउन साँठगाँठ गरिरहेका छन्: माओवादी अध्यक्ष प्रचण्ड।

काठमाडौं := नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजसंस्था फर्काउन साँठगाँठ गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ । सोमबार राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले ओली गणतन्त्र उल्ट्याएर राजतन्त्र ल्याउनका लागि सक्रिय भएको आरोप लगाउनुभएको हो ।

केही दिनअघि मात्रै पूर्वराजा ज्ञानेन्द्र शाहका मान्छेहरूसँग भेटेर ओलीले राजतन्त्र फर्काउने वचन दिएको दाबी पनि गर्नुभयो । ओलीलाई आफूलाई पहिलेदेखि नै गणतन्त्र मन नपरेको र मौका मिलेमा उल्ट्याइदिने बताएको गम्भीर आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘ओली प्रवृत्ति भन्छौँ नि हामी उनले सधैँ भन्थे मलाई यो संघीय लोकतन्त्र पनि मन पर्दैन । गणतन्त्र पनि मन परेको छैन, मलाई यो समावेशी, समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन । अस्ति त भनेछन्, ज्ञानेन्द्रका केही मान्छेहरूसँग भेटेर भने भन्ने सूचना मैले पाएँ । मलाई जिन्दगीभर यो गणतन्त्र मन नै परेको होइन । बाध्य भएर गरेको हो । त्यसकारण मौका आयो भने यो उल्ट्याइदिन्छु भनेको सूचना पाएको छु ।’

उहाँले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागिपरेको आरोप लगाउनुभएको हो । उहाँले पार्टी अब नयाँ संकल्पसहित फेरि अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अलिकति हामी शिथिल हुँदा, माओवादी विभाजित हुँदा र पार्टीका नेता कार्यकर्ताहरू अलिकति व्यक्तिगत काममा लाग्दा वा विचारमा, राजनीतिमा, संगठनमा जसरी लाग्नुपर्ने हो, त्यसरी नलाग्दा, हिजो हामीसँग बाध्य भएर सम्झौता गर्नेहरूले सोचे अब माओवादी सकिन थालेको छ ।

यही बेलामा यो संविधान पनि च्यात्ने, संघीय लोकतान्त्रिक गणतन्त्र पनि घाँडो हो । यसलाई पनि हटाउनुपर्छ, धर्मनिरपेक्ष पनि ठिक छैन, समावेशी समानुपातिक भनेर दलित, महिला, जनजाति, मधेशी, मुस्लिम सबैलाई राज्य संयन्त्रमा तलदेखि माथिसम्म प्रतिनिधित्व गराउने यो माओवादी हो ।’

‘माओवादीले काम गर्‍यो तर प्रचार गर्न सकेन’

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले देशका लागि धेरै काम गरेको भए पनि प्रचार गर्न नजानेको बताउनुभयो । माओवादीलाई देशको नेतृत्व दिलाउन नेताहरू फेरि एकपटक जनताको घरदैलोमा जानुपर्ने उल्लेख गर्नुहुँदै उहाँले जनताको विकास र समृद्धिको लागि जनताको बीचमा आत्मांंलोचना गरेर स्थापित हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी पछिल्लो चरणमा आउँदा, अलि अन्योल जस्तो, अलि शिथिलता जस्तो, कहीँ न कहीँ हामीले आफ्नै मुद्दाहरूप्रति हाम्रो विश्वास डगमगाएको जस्तो । हाम्रै आन्दोलन र परिवर्तनप्रतिको हाम्रो स्वामित्व, अपनत्व जुन उचाइ, उत्साहसाथ हामीले त्यसलाई ग्रहण गर्नुपर्ने र त्यसलाई जनतामाझ स्थापित गरिराख्नुपर्ने हो ।

हामीले राम्रा-राम्रा काम गर्यौं, सामान बनायौँ तर बिक्री गर्न जानिराखेका छैनौँ हामीले । मार्केटिङ गर्ने हाम्रो क्षमता अलि पुगेको रहेनछ । यी सबै जनताको बीचमा स्थापित गर्न जरुरी छ। आत्मालोचनासहित जनताको घरमा जाने काम गर्यौं भने केही महिनाभित्र उभार आउन सक्ने सम्भावना छ ।’ अध्यक्ष प्रचण्डले फेरि विघटनवादविरुद्ध लड्न तयार रहेको उल्लेख गर्नुहुँदै नयाँ जनयुद्धका लागि हतियार बोकेर नभई जनतालाई साथमा लिएर संघर्ष गर्न माओवादी तयार रहेको बताउनुभयो ।