केएलआईएबाट निजी गाडीमा यात्रु ओसारपसार गरेको आरोप, बंगलादेशी दम्पतीमाथि छानबिन माग।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा आफ्नै निजी सवारीसाधन प्रयोग गरी अवैध रूपमा यात्रु ओसारपसार गरेको आरोपमा एक बंगलादेशी दम्पती सामाजिक सञ्जालमा ब्यापक चर्चामा आएका छन्।

उनीहरूले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केएलआईए) बाट मलेसियाका विभिन्न राज्यमा यात्रु पुर्‍याउने , साथै क्वालालम्पुरलगायत अन्य विभिन्न राज्यबाट केयलआईए पुर्याउने लगायतका सेवा सञ्चालन गरिरहेको दाबी सार्वजनिक भएपछि उनीहरूको गतिविधिमाथि प्रश्न उठाइएको हो।

थ्रेड्स (Threads) मा x_.tw9 नामक प्रयोगकर्ताले सार्वजनिक गरेको पोस्टअनुसार, उक्त दम्पतीले केएलआईएमा भर्खरै आइपुगेका आफ्नै देश बाङ्लादेशका व्यक्तिहरूलाई पिकअप भ्यानमार्फत क्वालालम्पुर , जोहोर, केदाह, मलाक्का, केलान्तान र पर्लिसलगायतका राज्यमा पुर्‍याउने गरेको आरोप लगाइएको छ।

पोस्टमा ती पुरुषले आफ्नो फेसबुक परिचयमा आफूलाई व्यवसायीका रूपमा चिनाएको भए पनि व्यवहारमा निजी पिकअप भ्यान प्रयोग गरी यात्रु ओसारपसार गरिरहेको दाबी गरिएको छ।

सामाजिक सञ्जालमा उक्त दम्पती विलासी जीवनशैली बिताइरहेको र महँगो आवासीय कन्डोमिनियममा बसोबास गरिरहेको दाबीसमेत गरिएको छ। पोस्टकर्ताले उनीहरूको आम्दानीको स्रोत, कर भुक्तानी तथा मलेसियामा रहेको बसोबास अनुमति र भिसाको अवस्थाबारे पनि प्रश्न उठाएका छन्।

यस विषयमा पोस्टकर्ताले मलेसियाको अध्यागमन विभागलाई दम्पतीको गतिविधि, अनुमति तथा भिसाको अवस्था र उनीहरूले गर्दै आएको काम कानुनसम्मत भए–नभएको छानबिन गर्न आग्रह गरेका छन्। कुनै गैरकानुनी गतिविधि पुष्टि भए आवश्यक कानुनी कारबाही गर्न पनि माग गरिएको छ।

मलेसियामा विदेशीलाई थ्रि-डी सेक्टरमा मात्रै काम गर्न पाउने अनुमति छ् ।साथै यस्ता निजि गाडीमा यात्रु ओसारपसार गर्ने काम गर्न अनुमति छैन । साथै पछिल्लो समय मलेसियाली जनता र यहाँ सम्बन्धित कानुनी निकायले विदेशीको गतिविधिमाथि तिव्र निगरानी गरिरहेको छ ।

यद्यपि, सामाजिक सञ्जालमा सार्वजनिक भएका आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन्। सम्बन्धित निकायबाट औपचारिक अनुसन्धान वा कारबाहीबारे जानकारी सार्वजनिक नभएसम्म यसलाई आरोपका रूपमा मात्रै लिनुपर्ने देखिन्छ।