भोजपुरका कृषकमा खुर्सानी खेतीको मोह।

भोजपुर:= पछिल्लो समयमा भोजपुरका कृषकमा खुर्सानी मोह बढ्न थालेको छ । अन्य खेतीभन्दा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषक यसतर्फ उत्साहित बनेका हुन् ।

खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको कृषक सीताराम प्रधान बताउनुहुन्छ । तर, यस वर्ष भने गत वर्षहरू भन्दा रोगका कारण कम उत्पादन भएको कृषकहरूको भनाइ छ । कृषकहरूले उत्पादन गरेको खुर्सानी जिल्लामा मात्र नभएर धरान हुँदै बाहिरी जिल्लामा समेत ढुवानी हुने गरेको छ ।

कृषकका अनुसार राजधानी काठमाडौं लगायतका ठाउँबाट समेत खुर्सानीको माग आइरहेको छ । मकै, कोदो, आलुलगायत बालीनाली लगाउँदै आएका कृषकले परम्परागत बालीनाली छोडेर अकबरे लगाउन थालेको स्थानीय नीरकुमार प्रधानको भनाइ छ ।

दुर्गम गाउँमा यातायातको समस्या भएकाले ढुवानीमा धेरै खर्च हुने हुँदा कृषकले अझै उचित मूल्य नपाएको गुनासो छ । धरानसम्म प्रतिकेजी ३० रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको अगुवा कृषकहरूको धारणा छ । खुर्सानी अन्य बालीनालीभन्दा स्याहारसुसार गर्न सजिलो र बजार राम्रो भएकाले भोजपुरमा पछिल्लो समय अकबरे खुर्सानीतर्फ किसानको आकर्षण बढेको हो ।

खेती भोजपुरको षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती हुने गरेको छ । भोजपुरमा अकबरे खुर्सानीको राम्रो सम्भावना रहेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।