रौतहटमा खेतमै उम्रियो धान, सरकारको बेवास्ताले किसान निराश।

[ श्याम कार्की ] 

रौतहट:= बेमौसमी वर्षातको कारण देशैभर जस्तै रौतहटका किसानहरूको पनि काटेर भित्र्याउन तयार रहेको धान डुबानमा परेको छ । डुबानमा परेका अधिकांश धान कामै नलाग्ने अवस्थामा पुगेका छन् । लगातार वर्षा भएपछि किसानहरूले डुबेको धान उठाउन समेत पाएनन् ।

कृषि ज्ञान केन्द्र रौतहटको अनुमानित तथ्यांकअनुसार जिल्लामा एक हजार १३० हेक्टर जमिनमा लगाएको धानबाली पानीले नष्ट भएको छ भने एक हजार दुई हेक्टर जमिनमा लगाएको धान हावाहुरीले झारेर काट्न नपाउँदै कामै नलाग्ने अवस्थामा पुर्‍याएको छ ।

यस्तै, नपसाएको ८२५ हेक्टर जमिनमा लागएको धान पनि पूर्ण नोक्सान भएको छ । जिल्लामा ३५ हजार ५३५ हेक्टर जमिनमा यसपालि धानखेती गरिएको थियो । सो केन्द्रको तथ्यांकअनुसार कुल ८.१८ प्रतिशत जमिनमा लगाइएको धानमा नोक्सानी भएको छ ।

वर्षदिन खाने अन्न डुबेर नाश भएपछि के खाने भन्ने चिन्ताले सताउन थालेको चन्द्रपुर-२ कि किसान दुर्गादेवीले गुनासो गर्नुभयो । ‘वर्षदिनको मिहिनेत पानीमा डुबेर बसेको छ’ दुःखित मुद्रामा उहाँले भन्नुभयो, एक गेडो पनि भित्र्याउन पाइएन । अब आफू के खाने परिवारलाई के खुवाउने ?’

काटेको धेरैदिनसम्म धान पानीमा डुबिरहँदा अधिकांश किसानको धान खेतमै उम्रिएका छन् । राम्रो धान उब्जाउ होला, वर्षभरि खाऊँला अनि उब्रिएको बेचेर घरखर्च चलाऊँला भन्ने किसानहरूको आशामा तुषारोपात लागेको छ ।

धानको अवस्था हेर्दा मान्छेलाई खान धान होइन वस्तुलाई खुवाउन पराल पनि नआउने अवस्था छ । उनीहरू उम्रिएको धान हेरेर टोलाउँछन् अनि अब के खाने, घरखर्च कसरी धान्ने चिन्ता गर्छन्।

देशमा तीन तहको सरकार भए पनि आजसम्म आफूहरूको दुःखमा मलम लगाउन कुनै सरकार पनि नआएको किसानहरूको गुनासो छ । भोट माग्न घर–घर आउने नेताहरूले आफूहरू पीडामा पर्दा भने फर्केर नआएकोमा किसानहरू आक्रोशित बनेका छन् ।

आफ्नै स्वार्थमा लिप्त नेताहरूले किसानहरूको हितको लागि केही गर्लान् भन्ने आशा मारिसकेको उनीहरूको गुनासो छ । ‘नेताहरू आफैँलाई त पुगेको छैन, हामीलाई के देलान् ?’ अर्का किसान भीमसेन केसीले आक्रोश हुँदै भन्नुभयो, ‘हाम्रो समस्याको समाधानमा लाग्नुपर्ने सरकार भागबण्डामा लागिरहेको छ । सबैलाई सत्ता चाहिएको छ हाम्रो चिन्ता गर्ने फुर्सद कसलाई छ र ?

सिञ्चाइ, मलखाद, उन्नत बिउ, श्रमिकलगायतको चर्को अभाव झेलेर भए पनि किसानहरूले धान उत्पादन गरेका थिए । तर, यसरी दुःख गरेर वर्षभरि खाने अन्न जोहो गर्न लागेका किसानको जीवनमा बेमौसमी वर्षाले ब्रजपात गरिदिएको छ ।

उनीहरूले यसवर्ष धान त परै जाओस्, पराल पनि भित्र्याउन नसक्ने अवस्था सृजना भएको छ । फलेका धान पानीमा डुबेर फेदैसहित कुहिएका छन् । किसानहरू केही भइहाल्छ कि भनेर त्यहीँँ कुहिएको धान पनि उठाउँदै खुल्ला ठाउँमा सुकाइरहेका छन् ।

आफूहरूलाई गाह्रो परेको अवस्थामा तीनै तहको सरकारले तत्कालै राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने किसान तेजप्रसाद पाँडेको भनाइ छ । सरकारले किसानहरूलाई केवल आश्वासन मात्र होइन देखिने गरी तत्काल राहत तथा क्षतिपूर्ति दिनुपर्ने र यस्ता समस्याहरूको दीर्घकालीन समाधानको लागि तीनै तहका सरकारहरूले ठोस योजना ल्याउनपर्ने उहाँको भनाइ छ ।

देशैभर किसानहरूको भित्र्याउन तयार धान डुबेर क्षति हुँदा पनि सरकारले किसानहरूको लागि कुनै ठोस राहत प्याकेज नल्याएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।