विश्वस्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने।

एजेन्सी := पोर्चुगलका विश्वस्टार चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भिडियो सन्देश जारी गर्दै पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्ग्याउने निर्णय सार्वजनिक गरेका हुन् ।

रोनाल्डोले पोर्चुगलका लागि २३४ अन्तर्राष्ट्रिय खेल खेल्दै १४६ गोल गरेका छन्। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत छन् । ‘पोर्चुगाली जनताका लागि हाम्रो राष्ट्रिय टोलीको सात नम्बरको जर्सी फिर्ता गर्ने दिन आएको छ,’ उनले भिडियो सन्देशमा भनेका छन् ।

‘मैले कहिल्यै यो जर्सी मेरो मात्र हो भन्ने महसुस गरिनँ । तर, २३ वर्षसम्म यसलाई लगाउने, रक्षा गर्ने र विश्वभरका रङ्गशालामा पुर्‍याउने विशेषाधिकार र जिम्मेवारी मैले पाएँ,’ उनले थपेका छन् ।  रोनाल्डोका अनुसार फुटबल एउटा खेल मात्रै होइन, मानिसहरूलाई जोड्ने माध्यम पनि हो ।
‘यी २३ वर्षका लागि धन्यवाद । ममाथि विश्वास गर्नुभएकोमा धन्यवाद । पोर्चुगल सधैँ मभित्र रहनेछ । सधैँका लागि,’ उनले आफ्नो सन्देशमा भनेका छन् ।

रोनाल्डोले सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु  गरेका थिए । उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ को युरोपेली च्याम्पियनसिप र सन् २०१९ को यूईएफए नेसन्स लिगको उपाधि जितेको थियो ।गत महिना राष्ट्रिय टोलीका प्रशिक्षक जर्ज जेसससँगको मतभेदका कारण रोनाल्डो टोलीको प्रशिक्षण शिविरबाट बाहिरिएका थिए ।

नेसन्स लिगको एक खेलमा प्रशिक्षकले उनलाई मैदानमा उतार्न अस्वीकार गरेपछि दुवैबीच सम्बन्ध चिसिएको बताइएको थियो । रोनाल्डोको सन्याससँगै पोर्चुगलको राष्ट्रिय टोलीमा उहाँको २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन समाप्त भएको छ । रोनाल्डोले राष्ट्रिय टोलीबाट सन्न्यास लिए पनि क्लब फुटबल भने जारी राख्नेछन् । उनी अहिले साउदी अरेबियाको अल नासरबाट खेलिरहेका छन् ।