पाकिस्तानले भारतलाई जित्दा खुशीयाली मनाएका कश्मीरका विद्यार्थीविरुद्ध फौजदारी मुद्दा दर्ता।

एजेन्सी := टी-२० विश्वकपमा पाकिस्तानले भारतलाई हराएपछि खुशीयाली मनाएका विद्यार्थीविरुद्ध कश्मीर प्रहरीले फौजदारी मुद्दा दर्ता गरेको छ ।

कश्मीर प्रहरीले भारतसँगको खेलमा पाकिस्तान विजयी भएपछि खुशीयाली मनाएका चिकित्सा शिक्षा अध्ययनरत् दुई विद्यार्थीविरुद्ध प्रतिआतंकवादसम्बन्धी कानूनबमोजिम मुद्दा दर्ता गरेको अलजजिराले समाचारमा उल्लेख गरेका छ्न

आइतबारको खेलमा भारत पराजित भएपछि कश्मीरका मुख्य दुई मेडिकल कलेजका विद्यार्थीले सार्वजनिक रुपमै खुशीयाली मनाएका थिए । उनीहरुले होस्टेलबाहिर खुशीयाली मनाएको भिडियो सामाजिक सञ्लालमा भाइरल बनेको थियो ।

मंगलबार एक प्रहरी अधिकारीले ‘क्रिकेट खेलका क्रममा राष्ट्रिय भावनामाथि ठेस पुर्‍याएको’ भन्दै विद्यार्थीविरुद्ध मुद्दा दर्ता गरेको बताएका छन् । ती अधिकारीका अनुसार गैरकानूनी गतिविधि रोकथाम ऐनबमोजिम विद्यार्थीविरुद्ध मुद्दा दर्ता गरिएको हो । तर कतिजना विद्यार्थीविरुद्ध मुद्दा गरेको भन्नेबारे उनले केही खुलाएका छैनन् ।

प्रहरीले दर्ता गरेको एफआईआरमा विद्यार्थीको नाम नखुलाइएको र हालसम्म कसैलाई पक्राउ नगरिएको समाचारमा उल्लेख छ ।

पाकिस्तानले टी-२० विश्वकपअन्तर्गत आइतबार राति यूएईमा सम्पन्न खेलमा भारतलाई १० विकेटले हराएको थियो । भारतको हारपछि पञ्जाबमा कश्मिरी विद्यार्थीमाथि आक्रमण भएको थियो भने भारतीय टोलीका मुस्लिम खेलाडीलाई अनलाइनमा अभद्र व्यवहार गरिएको थियो ।

पछिल्लो समय भारत नियन्त्रित कश्मीरमा भारतविरोधी भावना तीव्र रुपमा बढ्दै गएको छ । क्रिकेट प्रतियोगितामा भारत पराजित भएपछि खुशीयाली मनाएको पछिल्लो घटनाले समेत यही पुष्टि गर्छ ।

जम्मू-कश्मीरमा ९० को दशकमा भारतीय शासनविरुद्ध आन्दोलन शुरु भएको थियो । कश्मीरलाई मुस्लिम बाहुल्य पाकिस्तानमा गाभ्नुपर्ने वा स्वतन्त्र राज्य बनाउनुपर्ने माग राख्दै शुरु भएको आन्दोलन पछिल्लो समय हिंसात्मक बन्दै गएको छ । #अनलाइन खबर