कलाकारको रोजाइमा पर्ने हेयर डिजाइनर गीता।

काठमाडौं:= आजभन्दा झण्डै डेढ दशकअघि नेपाली चलचित्रमा काम गर्ने कलाकारको संख्या कम थियो । चलचित्र कमै बन्थे । चलचित्रकर्मी र प्राविधिक पनि कमै हुन्थे । त्यसमाथि कलाकारलाई सजाउने ‘आर्टिष्ट’ झनै कम हुन्थे । त्यसै समयमा गीता पौडेललाई कलाकार शृंगारको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने लाग्यो र शृंगारमा बढी ध्यान जान थाल्यो । अहिलेकी व्यस्त हेयर स्टाइलिष्ट गीता त्यो समयमा आफू कसरी यस विषयमा दक्ष हुन सकिन्छ भन्ने लागेर अनुभवी ‘शृंगार आर्टिष्ट’हरूको संगत गर्न लाग्नुभयो । विस्तारै सिक्दै अनुभव बटुल्दै आज नेपाली चलचित्र क्षेत्रकी व्यस्त हेयर स्टाइलिष्टको रूपमा परिचित हुनुहुन्छ ।

नेपाली कला क्षेत्रमा पुरानादेखि नयाँ कलाकारको हेयर स्टाइलको काम गर्दै आउनु भएकी गीतालाई अहिले कामको फुर्सद छैन । राम्रो काम गर्ने भएपछि कलाकारहरूको रोजाइमा परिन्छ, त्यसैले गीतासँग एक पटक काम गरिसकेका कलाकारले अर्को कामसँगै गर्न खोज्छन् । त्यसैले गीतको व्यस्ता बढेको छ ।

सयौं कलाकारको केश सजाएर आफूलाई अब्बल हेएर ड्रेसरको रूपमा उभ्याउनु भएकी गीता ‘फेरि तिम्रो याद आयो’ नामक चलचित्रमार्फत फिल्मी हेयर स्टाइलको क्षेत्रमा जोडिनु भएको थियो । त्यसै चलचित्रबाट अनुभव संहाल्दै आजसम्म दर्जनौं चलचित्रमा काम गरिसक्नु भएको छ । ‘आफूले गर्ने काममा मिहिनेत हुनु जरुरी छ, त्यो कुरामा म निकै ध्यानदिन्छु ।’ गीताले हिमालय टाइम्ससँग कुरा गर्दै भन्नुभयो । ‘सुरुवातका क्षणमा मिहिनेत गरेकाले आज यो स्थानमा आएकी छु ।’ गीताले द्वन्द्व तथा कला निर्देशक एवं अभिनेता स्व.गोपाल भुटानीको सहयोगमा नेपाली चलचित्र क्षेत्रमा हेयर डिजाइनरको रूपमा प्रवेश गरेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले नेपाली चलचित्रका निर्देशक तथा निर्माताले चुनौतीपूर्ण काममा बढी सम्झने गर्दछन् । अघि भन्नुहुन्छ, ‘हेयर डिजाइनमा पनि विभिन्न चुनौतीपूर्ण काम हुन्छ । गाह्रो जस्तो अथवा जो कोहीबाट यो काम हुनसक्दैन भन्ने लाग्यो भने निर्माता तथा निर्देशक ज्यूहरूले मलाई सम्झनुहुन्छ ।’

गीताले चलचित्र ‘मैदान, मृगतृष्णा, अग्निज्वाला, त्रिवेणी, दुई किनारा, राजु राजा राम, ख्याल ख्यालैमा, जय शिव शंकर, इन्द्रेणी, तग्दिर, देश, कोही मेरो, दर्पण छायां २, दुर्गा, मेरो लभ स्टोरी, जेरी, मेरो एउटा साथी छ, छोडी गए पाप लाग्ला, ऐश्वर्या, मुग्लान, भिसा गर्ल, गोर्खा पल्टन’ गर्दै ८५ जति चलचित्रका विभिन्न नेपाली कलाकारका साथमा ‘दामीनी, साथी रेजस्ता भोजपुरी फिल्म, सिंहदरबार, अञ्जलि’जस्ता टेलिफिल्म तथा विभिन्न म्युजिक भिडियोका कलाकार तथा मोडलको केश सजाइ सक्नुभएको छ ।

गीताले नेपाली चलचित्र क्षेत्रका लगभग सबैजसो कलाकारको केश सजाइसक्नु भएको छ । अघिल्लो पुस्ताका लोकप्रिय कलाकार राजेश हमाल, करिश्मा मानन्धर, सञ्चिता लुइँटेल, ऋचा घिमिरे, निरुता सिंहदेखि पछिल्लो समयका पल शाह, केकी अधिकारी, स्वस्तिमा खड्का जस्ता चर्चित अनुहारको केश सजाएर आफूलाई अब्बल हेएर ड्रेसरको रूपमा उभ्याइ सक्नुभएको छ । विशेषगरी एउटा हेयर डिजाइनरले कुन कलाकारलाई कस्तो डिजाइन सुहाउँछ त्यसको मूल्यांकन गरेर डिजाइन निकाल्न सक्नु खुबी मानिन्छ । त्यो काममा गीतालाई धेरै कलाकारले पर्फेक्ट हेयर डिजाइनरको रूपमा चिन्दै आएका छन् ।

गीताले नेपाली चलचित्रमा हेयर डिजाइनरको रूपमा काम गर्नेहरूमा महंगी डिजाइनरको रूपमा चिनिनुहुन्छ । काममा निखारता ल्याउन सक्ने भन्दै चलचित्रका निर्माता तथा निर्देशकले महँगै भए पनि गीतालाई रोज्ने गरेका छन् । गीताले भन्नुभएको छ, ‘मेरो बजेटिङ राम्रै हुन्छ । प्रायःले दिनुहुन्छ । प्रायःविदेशमा सुटिङ हुने सिनेमाका लागि कम बजेट हुन्छ तर, मैले पछिल्लोपटक युकेमा सुटिङ गरिएको हेलो जिन्दगी फिल्मका लागि एक लाख २० हजार बजेट लिएको थिएँ । हुन त कतिपय फिल्ममा बजेटिङको समस्या आउँछन् ।

हामीलाई हेयर स्टाइलिङका लागि आवश्यक सामान प्रोडक्सनले उपलब्ध गराउँदैनन्, आफैंले किन्नुपर्ने हुन्छ । नेपालमा ती सामान एकदमै सर्टेज हुन्छ भने ओरजिनल सामान पाउन गाह्रो हुन्छ । आउटडोर काम गर्दा कतिपय स्थानमा हेयर सेट गर्न प्रयोग गर्ने उपकरणका लागि बिजुलीको समस्या हुन्छ, बिजुलीबाट बनाउने लुक्स विना बिजुली गरिरहेका हुन्छौं । त्यस्तो हुँदा बढी समय लाग्छ’ गीताले हेयर स्टाइलिष्टका समस्या सुुनाउनुभयो ।

गीताका पति रामेश्वर हुमागाईं नेपाली चलचित्र क्षेत्रमा छायांकारको रूपमा सक्रिय हुनुहुन्छ । श्रीमान् यही क्षेत्रमा काम गर्ने भएकाले आफूलाई थप सहज भएको गीताले बताउनुभएको छ । गीताले महिला कलाकार हुन या पुरुष, उत्तिकै सजावत गर्नसक्ने क्षमता राख्नुहुन्छ । समयको हिसाबले पुरुषभन्दा महिलाको कपालमा बढी लाग्ने गीता बताउनुहुन्छ । ‘महिलाको कपाल लामो हुने भएकाले पुरुषको भन्दा बढी समय लाग्ने नै भयो । तर कतिपय पुरुष कलाकारको निकै डिजाइन गर्नुपर्ने हुन्छ । त्यो कपाल र क्यारेक्टर हेरेर हुन्छ’, गीताले भन्नुभयो, ‘चलचित्र भए पनि म्युजिक भिडियो भए पनि मिहिनेत बराबर हो ।’ गीताले अहिले ‘घिन्ताङ’ चलचित्रसँगै विभिन्न विज्ञापनमा काम गरिरहनु भएको छ ।

नेपाल प्रविधिक संघमा सदस्य, कार्यसमिति सदस्य हुँदै हाल कोषाध्यक्ष पदमा दोस्रो कार्यकाल सम्हालिरहनु भएकी गीताले यस क्षेत्रमा दिएको योगदानको कदरस्वरूप नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०७७ लगायत विभिन्न संघसंस्थाबाट सम्मानित हुनुभएको छ । उहाँले १०औं नेफ्टा अवार्डमा संयोजकको जिम्मेवारी लिनुभएको थियो । यस्तै गएको भदौ १२ गते राष्ट्रिय स्रष्टा तथा व्यक्तित्व सम्मान पाउनुभएको थियो । जुन सम्मान पूर्वराज्यमन्त्री परमानन्दा झा तथा नेपालको पहिलो नायिका भुवन चन्दाको हातबाट प्रदान गरिएको थियो ।