कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान।

दोहा:= कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिटमध्ये ३० सिटका लागि शनिबार मतदान भएको हो । बाँकी १५ सिटमा भने राजाले नै मनोनित गर्ने व्यवस्था छ ।

विश्लेषकहरूले भने निर्वाचनको नतिजा नयाँ खासै नआउने अनुमान गरेका छन् । यसअघि सत्तामा र संसद्मा भएकाहरू नै फेरि निर्वाचित हुने अनुमान गरिएको छ । आवरणमा निर्वाचन लोकतान्त्रिक देखिए पनि शासकबाट सत्ता र शक्तिबाहिर जाने सम्भावना कम रहेको छ ।

कतारका नागरिकहरू शनिबार बिहानैदेखि मतदानका लागि मतदान केन्द्रहरूमा पुगेका र दर्ता अधिकारीसँग नाम दर्ता गरेर मतदान गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन् । मतदान केन्द्रमा अर्धपारदर्शी प्लाष्टिकका मत पेटिकाहरू राखिएका छन्, भने सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतहरू पनि पर्याप्तमात्रामा खटिएका छन् । संसद सदस्यका लागि पुरुष उम्मेदवारहरूको संख्या अत्यधिक छ । कुल २८४ उम्मेदवारमध्ये २८ जनामात्रै महिला उम्मेदवार छन् ।