न्यु डायमण्ड क्लबले जित्यो महिला भलिबल च्याम्पियनसिपको उपाधी।

काठमाडौं:= न्यु डायमण्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा साबिक विजेता एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड च्याम्पियन बनेको हो।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पहिलो सेट गुमाएको न्यु डायमण्डले पुनरागमन जित हात पारेको हो । एपीएफले पहिलो सेटमा न्यु डायमण्डलाई २६-२४ ले हराएको थियो । तर, त्यसपछिको सेटमा न्यु डायमण्डले एपीएफमाथि २५-२१, २५-१७ र २५-१५ को जित निकाल्यो ।

आर्मी तेस्रो

यस्तै नेपाल पुलिस क्लबमाथि सोझो सेटमा जित निकाल्दै त्रिभुवन आर्मी क्लबले च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान प्राप्त गरेको छ । शनिबार बिहान भएको खेलमा पुलिसलाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । एकपक्षीय बनेको खेलमा आर्मीले पहिलो सेट २५-१७ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेटमा २५-२० को सहज जित निकालेको आर्मीले तेस्रो सेटमा पनि २५-१७ कै सहज जित निकाल्यो । तेस्रो स्थान हासिल गरेसँगै आर्मीले एक लाख रुपैयाँ हात पारेको छ ।

चैत महिनामा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुषतर्फ सात र महिलातर्फ पाँच टिमले स्थान बनाउनेछन् । च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान चार लाख नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै दोस्रोले दुई लाख र तेस्रोले एक लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र तथा च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधाअन्तर्गत स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गरेका छन् ।