काठमाडौं:= नेपाली कांग्रेसको १४औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ । सिंहदरबारमा बुधबार बसेको पदाधिकारी तथा पूर्व–पदाधिकारीको बैठकले दशैँअगाडि पालिका तहको अधिवेशन मात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल गर्ने सहमति गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ९ गतेका लागि निर्धारित पालिकास्तरीय अधिवेशन यथावत् रहनेछ । पूर्व–निर्धारित समयअनुसार नै पालिकाहरूको अधिवेशन हुने उहाँले बताउनुभयो ।
‘अहिले जुन स्थानमा वडा तहको अधिवेशन सम्पन्न भएको छ, ती ठाउँहरूको हकमा ९ गतेका लागि पालिकास्तरीय जुन अधिवेशन छ, त्यो यथावत छ,’ प्रवक्ता शर्माले भन्नुभयो, ‘त्यो ९ गतेका लागि पूर्व–निर्धारित समयमै पालिकाहरूको अधिवेशन हुनेछ । ९ गतेपछिका अधिवेशनका सन्दर्भमा निर्वाचन समितिले फेरबदलको निर्णय गर्ने उहाँले बताउनुभयो ।
९ गतेपछिका अन्य अधिवेशनको सन्दर्भमा एकातर्फ केही जिल्लाहरूको क्रियाशील टुंग्याउने विषय छ, यसलाई पनि सँगै लिएर जाने कुरालाई दृष्टिगत गर्दै पार्टीको केन्द्रीय समितिले आवश्यकताअनुसार यस बारेमा प्रक्रियालाई कुन रूपमा लिएर जाने भन्ने कुराको टुंगो लगाउनेछ,’ उहाँले भन्नुभयो, ‘बुधबारकोे बैठकले ९ गतेको लागि पूर्व–निर्धारित पालिकास्तरीय अधिवेशनलाई सम्पन्न गर्ने गराउने सन्दर्भमा सहमति बनाएको छ ।
अन्य तहको सन्दर्भमा पार्टीको केन्द्रीय निर्वाचन समितिले अन्य जिल्लाको क्रियाशीलताको विषय र अहिले जारी रहेका विषयहरूलाई समायोजन गरी उपयुक्त सन्तुलन, उपयुक्त समयावधि जुन रूपमा निर्धारित छ, त्यसलाई कुन रूपमा अघि लाने र बाँकी कुरा निर्वाचन समितिले गर्छ । उपयुक्त समयमा निर्वाचन समितिले निर्धारण गर्नेछ ।’ यसअघिको तालिकाअनुसार कांग्रेसको असोज ९ गते पालिकास्तरको अधिवेशन हुने उल्लेख छ ।
बाँकी १३ जिल्लाको वडा अधिवेशन सकेर मात्र पालिका अधिवेशन गर्न पौडेल पक्षको माग
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बाँकी रहेका १३ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेर मात्रै गाउँ÷नगरपालिका अधिवेशन गर्न माग गरेको छ ।
बुधबार कांग्रेस पदाधिकारी बैठकअघि महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको समूहको बैठकले बाँकी रहेका १३ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेर मात्रै गाउँ÷नगरपालिका अधिवेशन गर्नुपर्ने माग गरेको समूहका नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विगतमा विगतमा वडा अधिवेशनमा कार्यतालिकाको पालना नभएको भन्दै अब पालिका अधिवेशनमा पनि त्यस्तो नहोस् भनेर बाँकी जिल्लाको वडा अधिवेशन सकेर एकसाथ पालिका अधिवेशन गर्नुपर्ने माग गरेको हो ।




















