काठमाडौं := नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफ्नो राजनीतिक करिअर ध्वस्त पार्न ललितानिवास जग्गा प्रकरणमा तानिएको आरोप लगाउनुभएको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गच्छदारले आफ्नो राजनीतिक जीवन ध्वस्त पार्ने प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाएको आरोप लगाउनुभयो । उपसभापति गच्छदारले आफूमाथि ललितानिवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाउनु असान्दर्भिक रहेको बताउनुभयो । संवैधानिक आयोगहरू राजनीतिक प्रभावमा पर्दा निर्दोष व्यक्तिहरू फन्दामा पर्ने र दोषी छुट्ने गरेको उहाँको भनाइ छ।
‘विभागीय मन्त्रीको हैसियतले प्रस्तावसम्म पेश गर्ने मउपर मात्रै मुद्दा चलाइएको तथ्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म उपर पूर्वाग्रह राखेको प्रमाणित गर्दछ,’ उहाँले भन्नुभयो, ‘मैले व्यक्तिगत रूपमा लाभ लिनु वा नेपाल सरकारलाई हानि पुर्याएको अवस्था नभएकाले सरकारको गुरुयोजना कार्यान्वयन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्नेसम्मको कार्य कदापि भ्रष्टाचारजन्य कार्य हुन सक्दैन।
ममाथि लगाइएका आरोपका साथ संलग्न प्रमाण कागजातहरू अध्ययन गरिएमा मेरोविरुद्ध लगाइएका आरोपहरू झुटा हुन् भन्ने प्रमाणित हुन्छ । यद्यपि, म माथि छानबिन र अध्ययनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र छ । तर दूषित उद्देश्यले मेरो खुल्ला किताबसरह रहेको मेरो राजनीतिक जीवन ध्वस्त पार्ने प्रयास भएको छ।’
उहाँले प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरूको निवास विस्तार गर्ने गुरुयोजना आफू मन्त्री हुनुभन्दा अगाडिदेखि नै प्रारम्भ भएको भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार प्रक्रिया अगाडि बढाइ मन्त्रिपरिषद्ले सामूहिक निर्णय गरेको भए पनि आफूलाई पूर्वाग्रही रूपमा भ्रष्टाचारको मुद्दा चलाइएको बताउनुभयो।
‘प्रधानमन्त्री एवं विशिष्ट व्यक्तिहरूको निवास विस्तार गर्ने नेपाल सरकारको गुरुयोजना मैले भौतिक योजना तथा आवास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिलादेखि नै प्रारम्भ भएको हो,’ उहाँले भन्नुभयो, ‘उक्त गुरु योजना मेरो निर्देशन र निर्णयले बनेको होइन।
सो गुरुयोजना कार्यान्वयन गर्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालज्यूको निर्देशानुसार प्रक्रिया अगाडि बढेकोमा तह तह हुँदै मसम्म आएको टिप्पणी बमोजिमको प्रस्तावउपर निर्णय हुनको लागि मैले मन्त्रिपरिषद्मा प्रस्ताव पेशसम्म गरेको हुँ।
उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मत रूपमा पारित भई कार्यान्वयन अगाडि बढेको हो ।’ गच्छदारले प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्ट अदालतमा हाजिर हुनु ‘काग कराउनु र रूख ढल्नु’ जस्तो मात्रै बताउनुभयो।
सरकारको राजनीतिक दबाब र प्रतिशोधमा परेर संवैधानिक आयोगले जसरी पनि मुद्दा चलाउन सक्छ भन्ने जगजायर भएको उहाँको भनाइ छ । ललितानिवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा गराएको भन्दै भ्रष्टाचार अभियोगमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । गच्छदारविरुद्ध अदालतमा नौ करोड ६५ लाख ७६ हजार बिगो र जरिवानासहित कैद माग गरिएको छ । उहाँ गत ३० असारमा १० लाख धरौटीमा छुट्नुभएको थियो।
‘कुनै गुट वा समूहको पक्षमा छैन, सभापतिको उम्मेदवार बन्दिनँ’
उपसभापति गच्छदारले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नबन्ने स्पष्ट पार्नुभएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सौहार्दपूर्ण वातावरणमा मिलेर अगाडि बढ्नको निम्ति आफूले भूमिका निर्वाह गरेको बताउनुभयो । आफू नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउनको निम्ति कांग्रेससँग एकीकरण गरेको भन्दै उहाँले कुनै पनि गुट वा समूहको पक्षमा वकालत नगर्ने बताउनुभयो।
‘अधिवेशन स्वस्थ प्रतिस्पर्धात्मक, लोकतान्त्रिक, विधि प्रक्रियाबाट सम्पन्न होस् भन्ने मेरो चाहना छ । नेताहरूको बीचमा स्वस्थ प्रतिस्पर्धा गरेर अधिवेशन सम्पन्न होस् । मैले पार्टी एकीरण गरेर नेपाली कांग्रेसको संगठनलाई बल पु¥याउने उद्देश्यले आएको छु,’ उहाँले भन्नुभयो, ‘तत्काल कुनै गुट, नेताको पक्षमा पनि मैले वकालत गरेको छैन।
नेताहरू मिलेर गर्नुस् भनेर म एकता र मेलमिलापकै आधारमा पार्टीको महाधिवेशन सम्पन्न हुनुपर्छ । गुटभन्दा पनि कांग्रेसलाई बलियो बनाउन आएको हुनाले म नेपाली कांग्रेसकै पक्षमा उभिएको छु । सभापतिको पदको लागि मेरो कुनै प्रतिस्पर्धा अहिले छैन।
म सभापतिको उम्मेदवार होइन । नेपाली कांग्रेसको केन्द्रीय सभापतिको पदमा प्रतिस्पर्धा गर्ने मैले कुनै सोचाइ राखेको छैन।’ उहाँले नेपाली कांग्रेसलाई मजबुद गर्न सबै गुटको समर्थन प्राप्त कुनै पनि पद आफूलाई स्वीकार्य हुने विश्वास व्यक्त गर्नुभयो।




















