काठमाडौं := नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा मन्त्री नियुक्त गरेको भन्दै असन्तुष्टि जनाएको छ ।
आफूहरूसँग छलफल नै नगरी प्रधानमन्त्री देउवाले चारजना मन्त्री बनाइसकेको भन्दै वरिष्ठ नेता पौडेल पक्षले असन्तुष्टि जनाएको नेतृ सुजाता कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रिमण्डल विस्तार गर्दा पार्टीमा छलफल हुनुपर्ने समूहको निष्कर्ष छ ।
पार्टीमा देखिएका समस्या समाधान नगरी यसरी अघि बढ्दा पार्टी कमजोर हुँदै जाने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । कांग्रेसले मन्त्रीहरूको टुंगो छिटोभन्दा छिटो लगाउनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।
प्रधानमन्त्री देउवाले बुधबार नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको थियो । यसअगाडि देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुनमन्त्रीमा ज्ञानेन्द्र कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो । चारैजना देउवानिकट हुनहुुन्छ ।




















