बालबालिका सेतो कपडा हुन्, जस्तो रंग लगायो त्यस्तै छाप बस्न पुग्छ : प्रधानमन्त्री ओली

काठमाडौं । राष्ट्रिय बाल दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा बधाई तथा शुभकामना ब्यक्त गर्नुभएकको छ । उहाँले सन्देश मार्फत बाल अधिकार संरक्षण एवं प्रवद्र्धनमा क्रियाशील सम्पूर्ण दिदीबहिनी, दाजुभाइ, नागरिक समाज, राजनीतिकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु लगायत सबैलाई यस अवसरमा शुभकामना दिनुभयो ।

सन्देशमा बालबालिका सेतो कपडा हुन्, तिनमा जस्तो रंग लगायो जीवनको अन्त्यकालसम्म नमेटिने त्यस्तै छाप बस्न पुग्दछ भन्दै उहाँले सिर्जनाका आधारभूमि हाम्रा यी बालबालिकामा सकारात्मक, सवल र जीवनमूखी रंग भर्न राज्य मात्र होइन, अभिभावक, परिवार र समाजले आफ्नो नैतिक आचरण मार्फत् सकारात्मक ज्ञान सम्प्रषेण गर्नु पर्दछ । यस अवसरमा समस्त अभिभावकहरुलाई यसतर्फ दायित्वशील हुन आह्वान गर्नुभएको छ ।

 ‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ देशव्यापी रुपमा बाल दिवस मनाउँदै गरेको बताउँदै उहाँले सरकारले बालबालिकाको हक, हित र उनीहरुका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ ।

 नेपालले संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि १९८९, बालबालिका सम्बन्धी अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौतालाई अनुमोदन गरी बालबालिकाको संरक्षण तथा बाल अधिकारको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता जनाएको बताउँदै उहाँले सरकार यस प्रतिवद्धताका कारणले मात्र होइन, बालबालिका देशको सवल भविष्यका आधार हुन् भन्ने मान्यताप्रतिको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित भएको बताउनु भएको छ ।

हेरौं शुभकामना सन्देश