अष्ट्रेलियाको गोल्ड रस

तीन वर्षको अवधिमा चमत्कारिक रूपमा संसारकै धनी देश बन्न पुगेको थियो अष्ट्रेलिया । त्यसको प्रमुख श्रेय जान्छ भिक्टोरिया प्रान्तलाई जसको राजधानी मेलबोर्न हो । मेलबोर्न त्यो शहर हो, जहाँको खजानामा प्रतिदिन दुई हजार किलोग्रामसम्म सुन जम्मा हुने गथ्र्यो । सन् १८५४ देखि १८९६ सम्मको अवधिमा त्यहाँको सरकारी ढुकुटीमा बिस लाख किलोग्राम सुन जम्मा भएको थियो । आम मानिससँग कति सुन थियो भन्ने कुरा आंकलन गर्नसक्ने स्थिति थिएन । अपराधीहरूको देश भनेर चिनिने अष्ट्रेलियालाई सम्पन्न र विकसित बनाउने काम त्यहाँका सुनखानीले गरेका थिए ।

मेलबोर्न पुग्ने जो कोहीहोस् उसले यारा नदीको छेउमा उभिएको ९२ तला अग्लो गगनचुम्बी ‘युरेका टावर’ हेर्ने अवसर गुमाउँदैन । तेह्र लाख बीस हजार वर्गफुट कूल क्षेत्रफल भएको युरेका टावर अगष्ट २००२ मा सुरु भएर जुन २००६ मा सम्पन्न भएको थियो । टावरको माथिल्लो दश तला २४ क्यारेटको सुनले मोरिएको छ । निर्माण सम्पन्न भएको बेला त्यो टावर संसारको सबभन्दा अग्लो आवासीय भवन थियो । ९७५ फिट उचाइ भएको त्यो भवनमा ५५६ वटा अपार्टमेन्ट र १३ वटा लिफ्ट छन् । तीव्र गतीमा चल्ने त्यहाँ भएका लिफ्टले मानिसलाई ३२ सेकेण्डको समयमा अठासी तलामाथि रहेको ‘स्काई डेक’मा पु-याउँछन् । ‘स्काई डेक’बाट मेलबोर्न शहर र प्रशान्त महासागरको ‘पोर्ट फिलिप बे’ को दृश्यावलोकन गर्न सकिन्छ ।

विशाल त्यत्रो भवनको दशतला मोर्नपुग्ने त्यति धेरै सुन कहाँ भेटियो होला ? भन्ने प्रश्न मनमा उठ्नु स्वाभाविक हुनजान्छ । ‘युरेका टावर’ को इतिहास अष्ट्रेलियाको गोल्ड रससँग जोडिएको रहेछ । त्यो बेला घटेको एउटा घटनालाई ‘युरेका स्टकेड’ भनिन्छ । त्यो घटनाले अष्ट्रेलियाको प्रजातान्त्रिक इतिहासमा महŒवपूर्ण कडीको भूमिका निर्वाह गरेको मानिन्छ । त्यहीँ घटनाको स्मरणमा बनेको थियो ‘युरेका टावर’ । 

‘युरेका टावर’ मा विभिन्न रंगको संयोजनको माध्यमबाट ‘युरेका स्टकेड’ को घटनालाई प्रदर्शन गरिएको छ । भवनको चुचुरोमा रहेको सुनको बुर्जाले ‘गोल्ड रस’ लाई जनाउँछ । त्यहाँ भएको रातो धर्साले त्यो विद्रोहमा बगेको रगत जनाउँछ । भवनको अधिकांश हिस्साको भित्तामा जडिएका निलो सिसाले ‘युरेका स्टकेड’ को बेलाको सुरुवाति झण्डा जनाउँछ भने सेतो धर्साले ‘युरेका स्टकेड’ पछिको शान्तिको झण्डा जनाउँछ ।

गोल्ड रस 

अष्ट्रेलियामा सुन भेटिने क्रम अगष्ट १७८८ देखि नै सुरु भएको थियो । ‘जेम्स डले’ नामको कैदीबन्दीले सिड्नीको पोर्ट ज्याक्सनमा पहिलो पटक सुन भेटेको कुराको अपुष्ट हल्ला मच्चिएको थियो । त्यो बेला ‘आर्थर फिलिप’ गभर्नर थिए । सुन भेटिएको कुरा सही थियो । तर, त्यो कैदीले उल्टोपाल्टो कुरा गरेर ब्रिटिशहरूलाई छक्याउन खोज्यो । सही जानकारी नदिएकोमा उसलाई पहिलो पटक पचास कोर्रा लगाइयो । दोस्रो पटक एक सय कोर्रा । त्यति गर्दा पनि सुनको जानकारी नपाएका ब्रिटिशले उसलाई चोरी गरेको अपराधमा त्यहीँ वर्ष मृत्युदण्ड दिएका थिए ।

त्यो बेलादेखि अष्ट्रेलियाको विभिन्न ठाउँमा फाट्टफुट्ट सुन भेटिएको अपुष्ट खबर फैलिइ रहृयो । सन् १८१५ देखि १८२० सम्म ‘न्यू साउथ वेल्सको ब्लु माउण्टेन’ मा बाटो खन्नमा लागेका कैदीबन्दीले सुनको टुक्राहरू भेटेको हल्ला मच्चियो । सन् १८३७ मा ‘न्यू साउथ वेल्स’ को ‘क्राउन ल्याण्ड’ मा सुन र चाँदीको खानी भेटिएको कुरा बाहिर आयो । सन् १८४० मा तस्मानियाको जर्जटाउनमा सुनखानी फेलापरेको कुरा चर्चामा आयो । त्यो बाहेक सन् १८४१ देखि १८४७ को अवधिमा विक्टोरिया प्रान्तको विभिन्न ठाउँमा सुन भेटिएको थियो । मेलबोर्नको ‘पोर्ट फिलिपमा’ अप्रिल १८४७ का दिन एउटा भेडा गोठालाले स्याउको आकारको सुनको डल्लो पहिलो पटक फेला पारेको थियो जसमा ६५ प्रतिशत सुन थियो । १८४८ मा विक्टोरियाको ‘पाइरेनिस रेन्ज’ मा अर्को भेडा गोठालाले ९० प्रतिशत शुद्ध सुनभएको एक किलोग्राम तौलको एउटा ढिक्का फेला पा¥यो । त्यो ढिक्का ‘चाल्र्स ब्रिन्तानी’ की श्रीमती ‘एन’ले किनेकी थिइन । भिक्टोरियाको विभिन्न डाडा र खोल्शामा भेटिनथालेको सुनले अष्ट्रेलियामा तहल्का मच्चियो ।

अन्य प्रान्तहरूमा जति सुन भेटिएको थियो त्यसको दाँजोमा अथाह परिमाणमा सुन भेटिएको भिक्टोरियाले अरू ठाउँलाई बिर्साइदियो । २१ अगष्ट १८५१ मा भिक्टोरियाको ‘बलाराट’ र ‘बेनडिगो’ मा सुन भेटिएसँगै भिक्टोरियामा ‘गोल्ड रस’ सुरु भएको थियो । ‘गोल्ड रस’ सुरुभएको तीन महिनाको अवधिमा भिक्टोरियाको जमिनमाथि भेटिएको सुन बटुल्ने काम सकिइसकेको थियो । त्योसँगै बालाराट र बेन्डीगोका विभिन्न ठाउँका खोल्शा र जमिनको भित्री भागमा सुनखानीको उत्खनन्का लागि आप्रवासीको ओइरो लाग्न थाल्यो ।

सन् १८५१ देखि १८६० को अवधिमा ब्रिटेनबाट करिब तीन लाख, स्कटल्याण्डबाट एक लाख र आयरल्याण्डबाट करिब ८४ हज्जार मानिस अष्ट्रेलिया आएका थिए । त्यो बाहेकका अन्य देशका आप्रवासीको गिन्ती भेटिँदैन ।

एक हजार ४ सय ९३ जनाको संख्यामा मेलबोर्न पुगेका उद्योगी र दक्ष्य जनशक्तिबाहेकका चिनियाँलाई भने प्रवेशमा रोक लगाइएको थियो । सुनको खोजीमा आउने अन्य चिनियाँहरू भने अष्ट्रेलियाको दक्षिण पूर्वी समुद्रीतटबाट चार सय किलोमिटर पैदल यात्रा गरेर ‘बालाराट’ र ‘बेंडीगो’ पुग्ने गर्थे । बलाराटको सुनखानीबाट पाँचजना मानिसले दिनभर काम गर्दा चार किलोग्रामसम्म सुन जम्मागरेको कुरा उल्लेख भएको पाइन्छ । त्यो ठाउँबाट सात महिनामा एघार लाख किलोग्राम सुन निस्किएको थियो । सन् १८५८ मा ६८.९८ किलोग्रामको ‘वेलकम नगेट’त्यहीँ ठाउँमा भेटिएको थियो ।

उज्यालो भएदेखि साँझ नपरेसम्म हप्ताको ६ दिन भोकै, प्यासै, धुलो र हिलोमा काम गर्ने त्यहाँका मजदुरका लागि बासस्थानको व्यवस्था थिएन । न त पर्याप्त खाना र पानी उपलब्ध थियो । गोल्ड रसले पर्यावरणमा ठूलो क्षति पु¥याएको थियो । सन् १८६० को दशकमा विक्टोरियाका सबै डाँडा नांगा भइसकेका थिए । खानीबाट निस्केर उरुंग लागेको माटोले भरिएका खोल्शा र पाखा भित्ता । बाढीको कटान र भूस्खलनको कारण पुगेको क्षतिले त्यो ठाउँले युद्धस्थलको झझल्को दिन्थ्यो । भनिन्छ, त्यो बेला त्यहाँ भएको पर्यावरणको क्षतिको भर्पाइ अहिलेसम्म भइसकेको छैन ।

यूरेका स्टकेड 

विना लाइसेन्स सुनको उत्खनन गर्न नपाइने भन्ने सरकारी आदेशविरुद्ध, बालाराट सुनखानीका कामदारले गरेको विद्रोहलाई ‘युरेका स्टकेड भनिन्छ । सन १८५४ मा भएको ‘युरेका स्टकेड’ ‘गोल्ड रस’सँग जोडिएको अष्ट्रेलियाको एउटा चर्चित घटना हो ।

बालाराटको नजिकमा रहेको एउटा पुरानो नदीमा सुनको उत्खनन् गर्दै गरेको ‘युरेका माइनिङ कम्पनीको’ नामबाट त्यहाँ रहेको एउटा बस्तीको नाम ‘युरेका’ रहन गएको थियो । त्यहीँ थियो ‘माइनिङ कम्पनिको ‘गोदाम’ । यो त्यहीँ गोदाम हो जहाँबाट सुनखानी सम्बद्ध ट्रेड युनियनले आफ्ना विभिन्न माग राखेर सरकारविरुद्धको पहिलो अभियान सञ्चालन गरेका थिए ।

त्यो बेला सुनको खोजीमा लाग्ने प्रत्येक व्यक्तिले मासिक तीस शिलिङ सरकारी दस्तुर तिर्न अनिवार्य गरिएको थियो । सन् १८५३ मा लाइसेन्स अनिवार्य गर्दै दस्तुर घटाएर प्रतिमहिना एक पाउण्ड गरियो । लाइसेन्स नलिनेका लागि भने जेल सजाय अनिवार्य गरियो । त्यो निर्णयसँगै सुरु भएको लाइसेन्स चेक गर्ने कामको कारण कामदार र पुलिसको बीचमा सुरुभएको द्वन्द्वले निम्त्याएको घटना थियो ‘युरेका स्टकेड’ ।

सन् १८५४ मा गभर्नर चाल्र्स होथामको आगमनसँगै सुनखानीको प्रशासनिक खर्चबापतको दस्तुर बढाएर १२ पाउण्ड हुन पुग्यो । सुन कोट्याउन जानेका लागि त्यो रकम तिर्न सम्भव थिएन । जबरजस्ती असुली गर्न तस्मानियाबाट ल्याइएका आपराधिक पृष्ठभूमि भएका व्यक्तिलाई सुरक्षा निकायमा भर्नागरेसँगै असुलीका लागि उनीहरूले दंगा मच्चाउन सुरु गरे ।

६ अक्टोबर १८५४ को राति बालाराट नजिक रहेको युरेका होटेलमा ‘जोन स्कोबी’ नामको एकजना खानी सञ्चालकको हत्या हुन गयो । त्यो हत्यामा संलग्न बेंटले नामको अपराधीलाई कमिस्नरले आर्थिक प्रलोभनमा परेर उन्मुक्ति दिई निरपराध व्यक्तिलाई सजाय दिएको कारण खानी सञ्चालकहरू असन्तुष्ट बनेका थिए । कमिस्नर भने उनीहरूलाई कसरी ठीक पार्ने भन्ने कुरामा लागेको थियो ।

तीन डिसेम्बरको १८५४ का दिन २७६ जना सुरक्ष्याकर्मीले बिहानीको ४ः३० बजे ‘युरेका स्टकेड’ मा चुपचाप हमला गरे । स्टकेडमा त्यो बेला दुई सय मानिस थिए । त्यो घटनामा सुरक्षा निकायका क्याप्टेन वैज, चार रक्षक र २२ जना खानी सञ्चालक मारिए । गम्भीर घाइते भएका ११४ जनालाई बन्दी बनाइयो ।

‘युरेका स्टकेड’ को त्यो द्वन्द्वका कारण केही ऐतिहासिक सुधारका कामहरू भए । सुनखानी सम्बन्धित समस्या समाधान गर्न खानी अदालतको स्थापना भयो । सुन उत्खनन् गर्ने काममा लागेकाहरूले चुनावमा सहभागी भएर राज्यको उच्च ओहदामा पुग्न पाउने व्यवस्थाको सुरुवात भएको थियो ।