भारतको बिहारमा मलेसियाको प्रसिद्ध ‘पेट्रोनास ट्विन टावर’ को दुरुस्तै देखिने भव्य संरचना निर्माण भएपछि यतिबेला सामाजिक सञ्जालमा यसको भिडियो र तस्बिरहरू तीव्र रूपमा भाइरल भइरहेका छन्।
बिहारको मुंगेर जिल्लास्थित कल्याणपुरमा स्थानीय दुर्गा पूजा समितिको विशेष अग्रसरतामा श्री दुर्गा पूजा महोत्सवको अवसर पारेर यो अद्भुत पण्डाल तयार पारिएको हो। करिब १७० देखि १८० फिट अग्लो यस टावरमा वास्तविक ट्विन टावरमा जस्तै दुईवटा भवनलाई जोड्ने ‘स्काई ब्रिज’ समेत बनाइएको छ, जसलाई रातीको समयमा रङ्गीचङ्गी एलइडी लाइट र लेजर शोले सजाउँदा दुरुस्तै मलेसियाकै झलक देखिन्छ।
स्थायी भवन नभएर केवल महोत्सवका लागि अस्थायी रूपमा बनाइएको यो कलात्मक पण्डाल निर्माणका लागि करिब २ देखि ३ करोड भारतीय रुपैयाँ खर्च भएको बताइएको छ। पश्चिम बङ्गालका करिब १०० जना दक्ष कालिगढहरूले साढे दुई महिनाको अथक मेहेनतपछि बाँस, काठ, कपडा र थर्मोकोलको मात्र प्रयोग गरेर यो विशाल संरचना खडा गरेका हुन्। यस टावरको भित्रपट्टि माता दुर्गाको भव्य मूर्ति स्थापना गरिएको छ, जसलाई हेर्न, अवलोकन गर्न यतिबेला हजारौँ श्रद्धालु तथा पर्यटकहरूको घुइँचो लागिरहेको छ।




















