काठमाडौं := सरकारले मलेसिया रोजगारीमा सिण्डिकेट गरेको आरोपमा पक्राउ गरेका बैदेशिक रोजगार व्यवसायी रविन गुरुङलाई थुनामुक्त गर्न सर्बोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले बुधवार यस्तो आदेश दिएको हो । गुरुङमाथि वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको थियो ।
तर, उक्त दफाअन्तर्गतको कसूरमा कारबाही र सजाय गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई रहेको अवस्थामा वैदेशिक रोजगार न्यायाधिकरणबाट पक्राउ अनुमति लिई म्याद थप गरिएको अदालतको ठहर छ ।
आदेशमा वैदेशिक रोजगार ऐनको दफा ६४ (१) अनुसार न्यायाधिकरणलाई मुद्दा हेर्ने अधिकार नभएको र दफा ५४ ले सम्बन्धित कसूरमा विभागबाटै कारबाही र सजाय हुने स्पष्ट व्यवस्था गरेको उल्लेख छ ।
न्यायाधिकरणबाट पक्राउ अनुमति लिई २०८३ असोज २९ र कात्तिक ९ गते हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपिएको कार्य प्रथम दृष्टिमै गैरकानूनी देखिएको अदालतको आदेशमा उल्लेख छ ।




















