काठमाडौँ:= नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटसम्बन्धी विवाद दुई देशबिच सुल्झिन नसक्दा नयाँ कामदार जाने प्रक्रिया रोकिएको हो ।
मलेसिया सरकारको ‘फरेन वर्कर सेन्टरलाइज म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) ले गत १५ असोजदेखि नयाँ श्रमिकको बायोमेडिकल (स्वास्थ्य परीक्षण) दर्ता गर्न रोकेपछि ‘कलिङ भिसा’ जारी हुन सकेको छैन ।
एफडब्लूसीएमएस सञ्चालन गर्ने कम्पनी वेस्टिनेट एसडीएनले मलेसियाद्वारा सूचीकृत २५ म्यानपावर कम्पनी (प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी) सक्रिय भएपछि मात्र बायोमेडिकल दर्ता खुल्ने सर्त राखेको छ ।
मलेसियाले गत भदौमा छनोट गरेका २५ मुख्य र २५० सहायक रिक्रुटमेन्ट एजेन्सीलाई नेपालले भने अनुमति दिएको छैन । नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो छनोट प्रक्रियाप्रति गम्भीर आपत्ति जनाउँदै आएको छ ।
श्रम मन्त्रालयले श्रमिक भर्ना प्रक्रियामा अन्योल हटाउन दुई देशबिच सहमति नजुटेसम्म पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने अडान राखेको छ । मन्त्रालयले यो विवाद समाधान र समझदारी पत्र (एमओयू) नवीकरणका लागि संयुक्त कार्यदलको बैठक बस्न नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ को मिति प्रस्ताव गरेको छ ।
यता मलेसियाली पक्ष भने आफ्नो निर्णयबाट पछि हट्न तयार देखिएको छैन । मलेसियाका श्रममन्त्री रमानन रामकृष्णानले नेपाली समकक्षी रामजी यादवलाई पत्र लेख्दै २५ मुख्य र तिनका मातहत १०/१० वटा सहायक म्यानपावर रहने संरचनामै मलेसिया सरकार दृढ रहेको जानकारी गराइसकेका छन् ।
विवाद कूटनीतिक तवरबाट सल्टाउने प्रयास भइरहँदा वैदेशिक रोजगार विभागले भने ती २५ म्यानपावर कम्पनीका सञ्चालकहरुमाथि कानुनी प्रक्रिया अघि बढाएको छ । विभागले ३५ दिनभित्र सम्पर्कमा नआए बैङ्क खाता र यात्रा अनुमति रोक्का गर्ने चेतावनीसहित कम्पनीहरूको अनुगमनसमेत थालेको छ ।
मध्यपूर्वमा बढेको तनावका कारण खाडी मुलुकहरूमा नयाँ नेपाली श्रमिकको भर्ना ५२ प्रतिशतभन्दा बढीले खुम्चिएको अवस्थामा मलेसियालाई प्रमुख विकल्पका रूपमा हेरिएको थियो । गत आर्थिक वर्षमा मात्रै १ लाख ३२ हजार नेपाली रोजगारीका लागि मलेसिया पुगेका थिए ।
हाल मलेसियामा करिब ४ लाख नेपाली कार्यरत छन् र नेपाल भित्रिने कुल रेमिट्यान्सको झन्डै २० प्रतिशत हिस्सा मलेसियाबाटै आउँछ ।




















