काठमाडौँ := नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा विदेशस्थित नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिमध्येबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। विधानको धारा २० (११) अनुसार जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिले मात्रै उम्मेदवारी दिन पाउने गरी ६ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
यसैक्रममा नेपाली जनसम्पर्क समिति मलेसियाका संरक्षक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका पूर्वअध्यक्ष बिनोद बहादुर थापाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। मलेसियामा लामो समयदेखि व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय थापा करिब दुई दशकदेखि मलेसियामा रहँदै आएका छन्। उनले प्रवासी नेपाली समुदायसँग निरन्तर सहकार्य गर्दै नेपाली श्रमिकका समस्या तथा आपत्विपत्का समयमा सहयोग र उद्धारमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छ्न ।
थापाले मलेसियामा क्रियाशील विभिन्न नेपाली संघसंस्था तथा सामाजिक संस्थासँग सहकार्य गर्दै नेपाली समुदायका समस्या समाधानका लागि पहल गर्दै आएका छन्। विशेषगरी अप्ठ्यारो परिस्थितिमा परेका नेपालीलाई सहयोग जुटाउने, सम्बन्धित निकाय तथा संघसंस्थासँग समन्वय गर्ने र आवश्यक सहयोगका लागि पहल गर्ने कार्यमा उनको सक्रियता देखिँदै आएको छ।

थापा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षसमेत भइसकेका छन्। पछिल्ला वर्षहरूमा पनि उनी मलेसियास्थित नेपाली समुदायका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका छन्। नेपाली जनसम्पर्क समिति मलेसियाबाट १५औँ महाधिवेशनका लागि थापा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा चयन भइसकेका छन्। उनीसँगै चोलाकान्त पंगेनी, राकेश प्रसाद महतो, हरि प्रसाद कोइराला, डम्बर ओखेडा, घनश्याम चौधरी ‘आरएन’ र देवराज घिमिरे ‘डेभिट’ महाधिवेशन प्रतिनिधिका रूपमा चयन भएको विवरण सार्वजनिक भएको छ।
थापाको उम्मेदवारीसँगै विदेशमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता तथा जनसम्पर्क समितिहरूको आवाजलाई पार्टीको केन्द्रीय तहमा थप प्रभावकारी रूपमा उठाउने विषयमा पनि चर्चा हुन थालेको छ। विदेशमा रहेका नेपाली श्रमिक, व्यवसायी तथा आम नेपालीका समस्या, अधिकार र हितका विषयलाई पार्टीको नीतिगत तहसम्म पुर्याउन आफ्नो भूमिका केन्द्रित गर्ने उनको भनाइ रहेको छ।
मलेसियामा लामो समयदेखि सामाजिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका थापामा नेतृत्व गर्ने क्षमता र विभिन्न पक्षसँग समन्वय गरेर अघि बढ्ने शैली रहेको उनका सहकर्मी तथा नेपाली समुदायका अग्रजहरु बताउँछन्। आपत्विपतका समयमा नेपाली समुदायलाई सहयोग गर्ने तथा संघसंस्थाबीच सहकार्य र समन्वय कायम गर्ने गतिविधिले उनको सामाजिक सक्रियतालाई थप परिचित बनाएको छ।
थापाको उम्मेदवारीसँगै आगामी १५औँ महाधिवेशनमा विदेशस्थित नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्वको विषय पनि चासोको विषय बनेको छ। कांग्रेसको १५औँ महाधिवेशन यहीँ असोज १६ देखि २२ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।




















