क्वालालम्पुर (मलेसिया):= मलेसियामा तीन महिनाअघि मात्रै रोजगारीका लागि कम्पनीमा काम गर्न आएका एक नेपाली पुरुष कामदारले १९ वर्षीया महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गर्ने उद्देश्यले आपराधिक बल प्रयोग गरि जबर्जस्ति गर्न खोजेको आरोप लागेको छ।
२९ वर्षीय खड्क सिंह ठगुन्नालाई उक्त आरोपमा आज मजिस्ट्रेट अदालतमा उपस्थित गराइएको हो। उनीमाथि गत अक्टोबर २३ मा दिउँसो करिब १२ः४० बजे मलेसियाको जोहोर राज्यस्थित श्री गाडिङ औद्योगिक क्षेत्रमा रहेको एक इलेक्ट्रोनिक्स कारखानामा कार्यरत महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको आरोप छ।
प्राप्त विवरणअनुसार, पीडित महिला कार्यस्थलको विश्राम कक्षमा आराम गरिरहेका बेला आरोपित उनीनजिक पुगेका थिए। त्यस क्रममा आरोपितले गरेको भनिएको गतिविधिबाट महिला आत्तिएको र डराएको जनाइएको छ। घटनाबारे प्रहरीमा उजुरी परेपछि प्रहरीले भोलिपल्ट राति करिब ९ः५० बजे क्लुआङस्थित विदेशी कामदारको एक होस्टलबाट ठगुन्नालाई पक्राउ गरेको थियो।
उनीविरुद्ध मलेसियाको फौजदारी संहिताको दफा ३५४ अन्तर्गत मुद्दा दायर गरिएको छ। उक्त कसुर प्रमाणित भएमा अधिकतम १० वर्षसम्म कैद, जरिवाना, कोर्रा सजाय वा कानुनले तोकेअनुसार यीमध्ये दुई सजाय हुन सक्ने व्यवस्था छ। अभियोजन पक्षका तर्फबाट उपसरकारी अभियोजक नुर शाहज्लिन इब्राहिमले बहस गरेका थिए भने आरोपितका तर्फबाट अधिवक्ता मोहम्मद रजाक शरीफले प्रतिनिधित्व गरेका थिए।
अदालतले आरोपितलाई नेपाली भाषाको दोभाषे “भाषा ट्रान्सलेटर”लाई उपस्थित गराई आरोपको विवरण बुझाउन आगामी नोभेम्बर २५ तारिखमा पुनः सुनुवाइका लागि मिति तोकेको छ। अदालतले स्थानीय दुई जना जमानीकर्ताको सर्तमा ८ हजार मलेसियन रिंगिट धरौटीमा रिहा गर्न अनुमति दिए पनि धरौटी रकम बुझाउन नसकेपछि उनलाई मुद्दाको टुंगो नलागेसम्म अस्थायी हिरासतमा राख्न मुआर सुधार केन्द्र पठाइएको जनाइएको छ।




















