क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टीले संशोधित विधानमार्फत विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरेपछि प्रवासबाट केन्द्रीय सदस्यका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन्।
संशोधित विधानअनुसार नेपाली जनसम्पर्क समितिबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। कांग्रेसका अनुसार विदेशस्थित ३७ देशमा जनसम्पर्क समिति क्रियाशील छन्। नयाँ व्यवस्थाअनुसार भारतस्थित जनसम्पर्क समितिबाट एक जना, एसियाका अन्य देशबाट एक जना, युरोपबाट एक जना, मध्यपूर्वबाट एक जना, अमेरिका/क्यानडा लगायतका देशबाट एक जना र महिलाबाट एक जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ।
यो व्यवस्था कार्यान्वयनमा आएसँगै विभिन्न देशमा रहेका जनसम्पर्क समितिका नेताहरूले केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्। मलेसियास्थित नेपाली जनसम्पर्क समितिका सभापति चोलाकान्त पंगेनीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनको उम्मेदवारीलाई मलेसियामा लामो समयदेखि नेपाली श्रमिक, सामाजिक संस्था र प्रवासी नेपाली समुदायसँग जोडिएर गर्दै आएको गतिविधिसँग जोडेर हेरिएको छ।
पंगेनी विगत २० वर्षदेखि मलेसियामा रहँदै आएका व्यवसायी हुन्। उनी नेपाली जनसम्पर्क समिति मलेसियाको नेतृत्वमा लगातार तीनपटक सभापति निर्वाचित भएका छन्। पछिल्लो पटक २०२६ को जनवरीमा सम्पन्न समितिको चौथो अधिवेशनबाट पनि उनी पुनः सभापति पदमा निर्वाचित भएका थिए। त्यस क्रममा उनले मलेसियामा दुःख तथा समस्यामा परेका नेपाली श्रमिकको सेवामा निरन्तर अझै सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
मलेसियामा रहँदा पंगेनीले राजनीतिक गतिविधिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको उनका समर्थकहरूको दाबी छ। मलेसियामा क्रियाशील विभिन्न नेपाली सामाजिक संघसंस्थालाई आवश्यकता पर्दा आर्थिक सहयोग गर्ने, अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार तथा सहयोग गर्ने र समस्यामा परेका नेपाली श्रमिकलाई नेपाल फर्काउन हवाई टिकटलगायत सहयोग उपलब्ध गराउने कार्यमा उनी संलग्न हुँदै आएका छन्।
विशेषगरी आर्थिक अभाव वा अन्य कारणले समस्यामा परेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन सहयोग गर्ने, बिरामी तथा पीडित नेपालीको उद्धारमा सहजीकरण गर्ने तथा मलेसियामा रहेका विभिन्न नेपाली संघसंस्थासँग सहकार्य गर्ने उनको गतिविधिको चर्चा हुने गरेको छ। यसअघि विभिन्न सामाजिक तथा मानवीय अभियानमा पंगेनी स्वयंले आर्थिक सहयोग गरेको विवरणसमेत सार्वजनिक भएका छन्।
पंगेनीले मलेसियामा रहेका नेपाली गैरसरकारी तथा सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै नेपाली श्रमिकका समस्या, अधिकार र सामाजिक सुरक्षाका विषयमा आवाज उठाउँदै आएको छ्। मलेसियामा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेको अवस्थामा उनीहरूको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने कार्यमा आफू निरन्तर सक्रिय रहेको पंगेनीको भनाइ छ।
जनसम्पर्क समिति मलेसियाको नेतृत्वमा रहँदा उनले प्रवासी नेपालीबीच संगठन विस्तार तथा सामाजिक सहकार्यलाई समेत प्राथमिकता दिँदै आएका छन्। पंगेनीको उम्मेदवारी घोषणासँगै अब विदेशस्थित जनसम्पर्क समितिबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गर्ने आकांक्षीहरूको प्रतिस्पर्धा थप रोचक बनेको छ। यसअघि दक्षिण कोरिया, कतार, यूएईलगायत विभिन्न देशबाट समेत नेताहरूले केन्द्रीय सदस्यका लागि आकांक्षा प्रस्तुत गरिसकेका छन्।
प्रवासमा रहेका नेपालीको संख्या, उनीहरूले भोगिरहेका श्रम तथा सामाजिक समस्या र नेपालसँगको उनीहरूको निरन्तर सम्बन्धलाई पार्टीको केन्द्रीय तहमा प्रतिनिधित्व गराउने उद्देश्यले नयाँ व्यवस्थाले विदेशस्थित जनसम्पर्क समितिका नेताहरूलाई प्रत्यक्ष प्रतिस्पर्धाको अवसर दिएको छ। अब हुने निर्वाचनमा प्रवासबाट आउने प्रतिनिधित्वले नेपाली कांग्रेसको संगठन र प्रवासी नेपालीसँगको सम्बन्धमा कस्तो भूमिका खेल्छ भन्ने विषयसमेत चासोको विषय बनेको छ।




















