सत्ता जोगाउने नयाँ राणनीतिमा प्रधानमन्त्री

काठमाडौँ । पार्टीभित्रैबाट राजीनामाको दबाब खेपिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन नयाँ राणनीति अघि सार्नुभएको छ । उहाँले सत्ता लम्ब्याउनका लागि शनिबार बसेको सचिवालय बैठकमा पार्टीको आगामी महाधिवेशनको नयाँ मिति प्रस्ताव गर्नुभएको हो । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल गठबन्धनमा रहनुभएका नेताहरूले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अडान लिइरहेका बेला उहाँले आगामी मंसिरभित्र महाधिवेशन गरेर नेतृत्व छाड्न तयार रहेको बताउनुभएको छ । सचिवालयले बैठकमा प्रधानमन्त्री ओलीले राखेको प्रस्तावमा कार्यकारी अध्यक्ष दाहाल पनि सहमत देखिनुभएको छ ।  

‘ओलीजीले आगामी मंसिरभित्र पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गर्नुभयो । उहाँको प्रस्तावमा प्रचण्डजीको पनि सहमति छ जस्तो लाग्यो,’ शनिबार बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा सहभागी स्रोतले भन्नुभयो । उहाँले दुवै अध्यक्ष पार्टीमा चुलिएको विवादको निकासका लागि मिले जस्तो गरेर बैठकमा प्रस्तुत हुनुभएको पनि जानकारी दिनुभयो । सचिवालय स्रोतका अनुसार दुवै अध्यक्षले बैठकमा आफूहरूले समग्रमा प्रस्ताव ल्याउने बताउनुभएको छ । 

यसअघि गत माघ १५ देखि १९ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले आगामी चैत २५–३० एकता महाधिवेशनको तिथि तय गरेको थियो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका बेला २०७७ जेठ २ गतेभित्रै एकता महाधिवेशन गर्ने सहमति गरेको थियो ।