काठमाडौं:= मलेसियाको विदेशी कामदार व्यवस्थापनसम्बन्धी Foreign Workers Centralised Management System (FWCMS) पोर्टलमा “Registered Recruitment Agencies” अन्तर्गत २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको सूची प्रकाशित भएपछि नेपाल सरकारले यस विषयमा गम्भीर चासो व्यक्त गरेको छ।
उक्त विषय सार्वजनिक हुनासाथ सम्बन्धित मन्त्रीले नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत महामहिम मोहम्मद फिरदौस अजमानसँग भेट गरी नेपाल सरकारको चासो औपचारिक रूपमा राख्नुभएको छ। भेटका क्रममा FWCMS मा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको नाम समावेश गरिएको विषयमा थप आधिकारिक जानकारी उपलब्ध गराउनसमेत अनुरोध गरिएको छ।
नेपाल सरकारले यस विषयलाई नेपाल–मलेसिया श्रम सम्बन्धसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयका रूपमा लिँदै द्विपक्षीय परामर्श र सहमतिबाट मात्र आवश्यक निर्णय लिनुपर्नेमा जोड दिएको छ।
त्यसैगरी, यस विषयमा दुई देशबीचको परामर्शबाट स्पष्ट निष्कर्ष नआएसम्म हाल सञ्चालनमा रहेको प्रणालीलाई निरन्तरता दिई नेपाली श्रमिकको रोजगारी तथा वैदेशिक रोजगार प्रक्रियामा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिन मलेसियाली पक्षसँग अनुरोध गरिएको छ।
सरकारले नेपाली श्रमिकको रोजगारी प्रक्रियामा प्रतिकूल असर पर्ने कुनै पनि निर्णय एकपक्षीय रूपमा नभई पारदर्शिता, आपसी परामर्श र नेपाल–मलेसिया सरकारबीचको विद्यमान सहमति तथा समझदारीका आधारमा मात्र अघि बढाइनुपर्ने स्पष्ट गरेको छ।
FWCMS मा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको सूची सार्वजनिक भएको विषयले नेपालका वैदेशिक रोजगार व्यवसायी तथा मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकबीच चासो बढिरहेका बेला सरकारले कूटनीतिक माध्यमबाट विषयको आधिकारिक जानकारी र स्पष्टता खोजेको हो।
अब नेपाल र मलेसियाबीच हुने थप छलफलबाट FWCMS मा प्रकाशित सूचीको उद्देश्य, यसको कानुनी तथा प्रशासनिक आधार र नेपाली श्रमिकको रोजगारी प्रक्रियामा पर्न सक्ने प्रभावबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।




















