मलेसियामा विदेशी कामदार भर्तीको आवेदन अब पूर्ण रूपमा अनलाइन प्रणालीबाट हुने।

पुत्राजया: = मलेसियामा विदेशी कामदार भर्तीका लागि रोजगारदाताले अब सरकारी कार्यालयमा गएर म्यानुअल आवेदन बुझाउनुपर्ने छैन। आजदेखि सम्पूर्ण आवेदन प्रक्रिया Foreign Workers Centralised Management System (FWCMS) मार्फत अनलाइनबाटै गर्न सकिने भएको छ।

मानव संसाधन मन्त्रालयका अनुसार डिजिटल प्रणाली लागू भएपछि सरकारी कार्यालयमा पटक–पटक जानुपर्ने बाध्यता घट्ने, प्रतीक्षा समय छोटिने तथा आवेदन प्रक्रिया थप व्यवस्थित र पारदर्शी हुने अपेक्षा गरिएको छ। तर मन्त्रालयले विदेशी कामदार भर्तीसम्बन्धी नियम तथा योग्यता मापदण्डमा कुनै छुट नदिइएको स्पष्ट पारेको छ। सबै आवेदन सम्बन्धित कानुन, योग्यता, विदेशी कामदारसम्बन्धी नीति तथा नियामक निकायको जाँचको अधीनमा रहनेछन्।

आवेदन प्रक्रिया Employment Act 1955 को Section 60K अन्तर्गत विदेशी कामदार भर्तीको पूर्वस्वीकृति प्राप्त गर्ने चरणबाट सुरु भएर Conditional Approval Letter (SKB) जारी भएपछि पूरा हुनेछ। आवश्यक कागजात र मापदण्ड पूरा भएमा SKB १४ दिनभित्र प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ। रोजगारदाताले FWCMS मार्फत आवेदन दिन सक्नेछन्।

यसैबीच, प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले जुलाई २४ मा घोषणा गरेको रेस्टुरेन्ट क्षेत्रमा १५,००० विदेशी कामदारको कोटा कार्यान्वयन गर्न चरणबद्ध रूपमा कोटा वितरण भइरहेको मन्त्रालयले जनाएको छ। त्यसमध्ये केस–बाइ–केस अन्तर्वार्ता पूरा गरेका १,०३३ रोजगारदातासँग सम्बन्धित ५,००० कामदारको आवेदन स्वीकृतिका लागि प्रक्रियामा रहेको छ।

मन्त्रालयले अन्तर्वार्ता पूरा गरिसकेका वा नयाँ आवेदन दिन चाहने रोजगारदातालाई FWCMS मार्फत प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। यसका साथै, क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी कामदार आगमनका क्रममा हुने भीड व्यवस्थापन गर्न Foreign Worker Transit Centre स्थापना गर्ने प्रस्ताव पनि अन्तिम तयारीमा रहेको र भविष्यमा पाइलट प्रोजेक्टका रूपमा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।