क्वालालम्पुर (मलेसिया):= मलेसियाको वैदेशिक रोजगार व्यवस्थापन गर्ने प्रणाली (FWCMS) को पोर्टलमा नेपालका सयौँ म्यानपावर कम्पनीहरू मध्ये केवल २५ वटा मात्रै ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सीज’ का रूपमा सूचीकृत भएपछि वैदेशिक रोजगार क्षेत्रमा नयाँ विवाद चुलिएको छ।
यसअघि इजाजतप्राप्त सबै म्यानपावरले श्रमिक पठाउन पाउने व्यवस्था रहेकोमा, मलेसियाले अचानक ल्याएको १० बुँदे कडा मापदण्डका कारण ८० प्रतिशतभन्दा बढी नेपाली व्यवसायीहरू मलेसियाको बजारबाट बाहिरिने अवस्था बनेको छ।
सिमित एजेन्सीलाई मात्रै यो अधिकार दिँदा खुला र प्रतिस्पर्धी बजार समाप्त भई रोजगारीको क्षेत्रमा नयाँ सिन्डिकेट (एकाधिकार) मौलाउने निश्चित देखिएको छ।
यस सिन्डिकेटको खेलले वैदेशिक रोजगारीमा जाने सोझासाझा नेपाली श्रमिकहरू पुनः चर्को आर्थिक शोषण र ठगीमा पर्ने उच्च जोखिम बढाएको छ।
बजारमा प्रतिस्पर्धा नहुँदा ती सूचीकृत २५ वटा म्यानपावर कम्पनीहरूले श्रमिकहरूसँग मनपरी शुल्क असुल गर्न सक्ने खतरा पैदा भएको छ, जसले गर्दा सरकारको ‘फ्री भिसा, फ्री टिकट’ को नीति कागजमा मात्रै सिमित हुने देखिन्छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विगतमा बंगलादेशमा पनि यसै गरी २५ एजेन्सीको सिन्डिकेट खडा गरेर श्रमिकहरूलाई ठगिएको उदाहरण दिँदै, नेपालमा हुन लागेको यो प्रयास विरुद्ध चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ।
यसैबीच मलेसिया रोजगारीसँग जोडिएको उक्त चलखेलमा वाइबी राईको टिम सक्रिय रहेको चर्चा व्यवसायी वृत्तमा चलेको छ । उनका भाइको प्यारामाउट प्रालि र उनकै त्यस्तै मलेसियाली रोजगारीको विषयमा लामो समयदेखि सक्रिय रहेको भनिएका अमिनसँग अहिले उनै राईको नेतृत्वमा मलेसिया रोजगारीमा सिण्डिकेट जोडिएको मलेसियाबाट एक व्यवसायीले जानकारी दिए ।
यसैबीच, सिन्डिकेटको विरोध र व्यवसायीहरूको चर्को दबाब पछि नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालयले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। श्रम मन्त्रीले मलेसियाका कार्यवाहक राजदूतलाई बोलाएर औपचारिक रूपमै चासो र असन्तुष्टि व्यक्त गरिसकेका छन् भने मन्त्रालयले विज्ञप्ति जारी गर्दै २५ म्यानपावरको सिन्डिकेट सम्बन्धी चर्चा निराधार रहेको दाबी गरेको छ।
वैदेशिक रोजगारलाई स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्रालयले कुनै पनि प्रकारको एकाधिकार स्वीकार नगर्ने स्पष्ट पारे पनि व्यवसायी र श्रमिकहरू भने अझै पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्।




















