काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनस्थित भरतपुरमा जारी महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने पुनः सभापति पदमा विजयी हुनुभएको छ । उहाँले मंगलबार पुनः सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएकोमा उक्त पदमा अरू कसैको उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध हुनुभएको हो ।
उहाँको उम्मेदवारीको प्रस्तावकमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) रहनुभएको छ । यसले महाधिवेशनको माहोललाई थप उत्साहजनक बनाएको छ ।सोमबार बिहानैदेखि सुरु हुनुपर्ने महाधिवेशनको बन्दसत्र प्राविधिक कारणले केही ढिला गरी मंगलबार दिउँसो मात्र सुरु भएको थियो ।
बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले गत निर्वाचनमा पार्टीले पाएको ऐतिहासिक जनमतको महिमा मात्र गाएर नबस्न सम्पूर्ण महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरूलाई गम्भीर आग्रह गर्नुभएको छ । उहाँले अत्यन्तै विषम् परिस्थितिमा स्थापना भएको दलले संसारमा विरलै हुने घटनाका रूपमा जुन ठूलो जनमत पाएको छ त्यसलाई अब जसरी पनि परिणाममा बदल्नुपर्ने बेला आएको स्पष्ट पार्नुभयो ।
पुराना राजनीतिक दलहरूको जस्तै सधैँभरि राजनीतिक खिचातानीमा लाग्ने र शक्ति मात्र प्राप्त गर्न खोज्ने चरित्र देखाएमा रास्वपाबाट पनि नयाँ नतिजा आउन नसक्ने उहाँको भनाइ छ । त्यसैले परिणाम दिनका लागि सबैले केही नयाँ संकल्प र प्रतिबद्धता गर्नुपर्ने तथा हिजोको भन्दा फरक ढंगले सोच्नैपर्ने कुरामा उहाँले विशेष जोड दिनुभएको छ ।




















