गाई फार्म उद्घाटन

 चितवन । चितवनको भरतपुर महानगरपालिकाको ५० प्रतिशत लागत साझेदारीमा नमुना गाई फार्मको उद्घाटन गरिएको छ । चितवनकै नमुना दुग्ध सहकारी अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड भरतपुर–६ केशरबागमा उक्त फर्मको शनिबार महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको हो । 

मेयर दाहालले आर्थिक वृद्धि र समृद्धिका लागि कृषि र पशुपालनमा लगानी बढाउने नीति कार्यक्रम र बजेट अनुसार अन्नपूर्णलाई लागत साझेदारीमा सहयोग गरेको बताउनुभयो । दूध उत्पादन तथा विक्रि वितरणमा गुणात्मक उपलब्धि देखाउन सफल भएको साथै निवेदन परेकामध्ये छनौट भई सहकारीलाई सहयोग प्राप्त गर्न सफल भएको दाहालले बताउनुभयो । 

महानगरपालिका र सहकारीको ५०÷५० साझेदारीमा नमुना गाई फार्म निर्माण गरिएको हो । ९६ वटा पशुवस्तु राख्न सक्ने क्षमताको फार्म ६० लाखको लागतमा निर्माण भएको हो । फार्ममा घाँस, पानी खुवाउनदेखि दुध दुहुन पनि आधुनिक प्रविधिको प्रयोग गरिएको छ । 

वि.सं. २०४१ सालमा स्थापना भएको सहकारीले दैनिक साढे आठ हजार लिटर दूध सदस्यहरूबाट संकलन गरी विक्रि वितरण गर्दै आइरहेको अध्यक्ष ऋषिराम चापागाईले बताउनुभयो । भरतपुर महानगरपालिका पशु विकास शाखाका प्रमुख मेघराज ढकालकाअनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डमा एक जना व्यक्तिले एक वर्षमा ९१ लिटर दुध पिउनुपर्ने हुन्छ । तर नेपालमा प्रतिवर्ष एक जनाका लागि ७३ लिटरमात्रै उपलब्ध छ । 

भरतरपुर महानगरपालिकामा भने प्रतिवर्ष एक व्यक्तिलाई १०८ लिटर दूध पुग्ने र बाँकी दूध बाहिरी जिल्लामा विक्रिवितरण हुँदै आएको छ । दूधमा चितवन आत्मनिर्भर भइसकेको र अब देशलाई पनि आत्मनिर्भर गराउन सहयोग मिल्ने उहाँको भनाइ छ ।