चितवन := राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”को जारी बन्दसत्रमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । यस प्रतिवेदनले रास्वपाको संगठन देशभर निकै छोटो समयमा तीव्र रूपमा फैलिएको सुखद अवस्था देखाएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार अहिले देशभर रास्वपाका ५ लाख २३ हजार ५६५ जना साधारण सदस्य रहेका छन् । सबैभन्दा रोचक र उत्साहजनक कुरा त के छ भने रास्वपाको सबैभन्दा ठूलो र बलियो संगठन मधेस प्रदेशमा देखिएको छ ।
कुल सदस्यमध्ये २३ दशमलव तीन प्रतिशत सदस्यहरू मधेस प्रदेशमा मात्र रहेका छन् । त्यसपछि बागमती प्रदेशमा २० दशमलव पाँच प्रतिशत सदस्य रहेका छन् । लुम्बिनी प्रदेशमा १४ दशमलव पाँच प्रतिशत सदस्य रहेका छन् भने कोशीमा १४ प्रतिशत सदस्य छन् । गण्डकीमा ११ दशमलव आठ प्रतिशत सदस्य हुँदा सुदूरपश्चिममा १० दशमलव ६ प्रतिशत र कर्णाली प्रदेशमा पाँच दशमलव दुई प्रतिशत सदस्य रहेको तथ्यांक सार्वजनिक भएको छ ।
उमेर समूहका आधारमा हेर्दा पार्टीमा युवाहरूको बाहुल्यता निकै धेरै देखिएको छ । १८-४५ वर्ष उमेर समूहका युवा सदस्यहरू मात्रै ६४ दशमलव एक प्रतिशत रहेका छन् । त्यसैगरी, ४५-६५ वर्षसम्मका सदस्य १८ दशमलव नौ प्रतिशत र १८ वर्षभन्दा मुनिका सदस्य ६ दशमलव सात प्रतिशत रहेका छन् । जातीय आधारमा हेर्दा खस-आर्य समुदायको उपस्थिति सबैभन्दा बढी अर्थात् ४१ प्रतिशत रहेको छ ।
मधेसी समुदायको १८ प्रतिशत प्रतिनिधित्व छ भने आदिवासी जनजातिको सत्र दशमलब तीन प्रतिशत रहेको छ । दलित समुदायको नौ दशमलव सात प्रतिशत उपस्थिति रहँदा मुस्लिम समुदायको दुई दशमलव पाँच प्रतिशत र थारू समुदायको दुई प्रतिशत प्रतिनिधित्व रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, पार्टीमा महिलाहरूको सहभागिता भने निकै कमजोर देखिएको छ ।
कुल सदस्यमा पुरुषको हिस्सा ७५ दशमलव आठ प्रतिशत हुँदा महिलाको सहभागिता भने सत्र दशमलव दुई प्रतिशत मात्र रहेको छ । अन्य लैंगिक समूहको सहभागिता शून्य दशमलव एक प्रतिशत छ भने करिब छ दशमलव नौ प्रतिशत सदस्यको विवरण खुल्न बाँकी रहेको छ । अबको दिनमा महिलाका साथै दलित तथा मुस्लिम र थारू समुदायको सहभागिता बढाउन विशेष राष्ट्रिय अभियान चलाउनुपर्ने निष्कर्ष पार्टीले निकालेको छ ।
हालसम्म ६४ वटा जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ भने ६०९ वटा पालिका र चार हजार ३६३ वटा वडामा अधिवेशन सकिएको छ । डोल्पा र हुम्ला लगायतका केही हिमाली र तराईका जिल्लाहरूमा अधिवेशन हुन बाँकी छ । अब संगठन विस्तारको चरण पूरा गर्दै संस्थागत सुदृढीकरण र परिणाममुखी राजनीतिक अभ्यासमा केन्द्रित हुने रास्वपाको स्पष्ट योजना छ ।




















