क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (इमिग्रेशन) ले एक महिना लामो गुप्तचर कारबाहीपछि अगस्ट १९, २०२६ मा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केयलआईए) टर्मिनल १ र नेगेरी सम्बिलानको निलाईस्थित तमान डेसा मेलातीमा एकैसाथ छापा मारी अनलाइन ‘लभ स्क्याम’ र नक्कली सामान बिक्री धन्दामा संलग्न ठूलो अन्तर्राष्ट्रिय गिरोहका २१ जनालाई पक्राउ गरेको छ।
पुत्राजाया अध्यागमन मुख्यालयको विशेष टोलीले अपराह्न ५:५५ बजे सुरु गरेको यस अपरेसनमा चीन, रुस, भानुअटु, पाकिस्तान, भारत र म्यान्मारका २३ देखि ३३ वर्ष उमेर समूहका १८ जना विदेशी नागरिकका साथै मुख्य योजनाकार र स्थानीय सहयोगीहरू अध्यागमनको नियन्त्रणमा परेका छन्।
सञ्चालन पद्धतिको अनुसन्धान गर्दा गिरोहले मानिसहरूको नजरबाट बच्न एकान्त क्षेत्रमा रहेको विलासी आवासलाई आफ्नो मुख्य सञ्चालन केन्द्र बनाएर चालु वर्षको सुरुदेखि नै यो अवैध धन्दा चलाउँदै आएको खुलेको छ। उनीहरूले सामाजिक भ्रमण भिसा (PLS) मा मलेसिया प्रवेश गरी टेलिग्राम र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमार्फत विदेशी नागरिकहरूलाई मुख्य निशाना बनाउने गरेका थिए।

विशेष रूपमा तयार पारिएको ‘स्क्रिप्ट’ प्रयोग गरेर मायाको जालमा पार्ने (‘लभ स्क्याम’) तथा नक्कली सामानलाई सक्कली भन्दै महँगो मूल्यमा बिक्री गर्ने गरिएको थियो। पक्राउ परेका गिरोहका सदस्यहरूलाई ठगिएका पीडितहरूको सङ्ख्याका आधारमा कमिसन दिइने गरिन्थ्यो र यस धन्दाबाट उनीहरूले ५०,००० अमेरिकी डलरसम्म नाफा कमाएको अनुमान गरिएको छ।
कारबाहीका क्रममा टोलीले २८ वटा चिनियाँ पासपोर्ट, १२ वटा कम्प्युटर, ४० वटा मोबाइल फोन र ठगीबाट कमाएको RM ४,८०० नगद समेत बरामद गरेको छ। पक्राउ परेका मुख्य सञ्चालकहरूलाई अध्यागमन ऐन १९५९/६3 को धारा ५६(१)(d) अन्तर्गत र अन्य विदेशीहरूलाई धारा १५(१)(c) तथा अध्यागमन नियमावली १९६३ को नियम ३९(b) अनुसार थप कानुनी कारबाहीका लागि पुत्राजाया अध्यागमन कार्यालय लगिएको छ। देशको कानुन र सुरक्षा व्यवस्था कायम राख्न अध्यागमन विभागले यस्ता आपराधिक गतिविधि विरुद्ध निरन्तर कडा कदम चाल्ने स्पष्ट पारेको छ।




















