बारा । जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंको संयुक्त टोलीले नक्कली भारतीय तथा नेपाली नोटसहित तीनजनालाई शनिबार पक्राउ गरेको छ । उनीहरूलाई महागढीमाई नगरपालिका–२ बरियारपुर चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका–६ का ३० वर्षीय नरेन्द्रप्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका–५ का २६ वर्षीय मनोजकुमार साह तेली र भारत बिहार, मोतिहारी जिल्ला पूर्वीचम्पारण थाना झरौखर ग्राम कोरैया वडा नम्बर १० का २५ वर्षीय सुधीरकुमार कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विशेष सूचनाको आधारमा तीनै जनालाई पछ्याउँदै जाँदा बरियारपुरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । संयुक्त टोलीले तीनैजनाले बोकेको झोला नियन्त्रणमा लिई चेक जाँच गर्दा ती झोलाहरूबाट एक हजार दरको नेपाली नोट एक हजार ४६५ थान, एक सय दरको ७४६ थान, पाँच सय दरको नक्कली भारतीय नोट २८४ थान र ५० दरको ७०६ थान जाली नोट फेला पारिएको प्रउ पंगेनीले बताउनुभयो । उनीहरूलाई नोटसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको छ ।
करिब दुई सातादेखि लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंको टोलीले तीनै जनालाई सूचनाको आधारमा पछ्याउँदै आएको थियो । पछ्याउने क्रममा नै उनीहरूलाई जाली नोटसहित रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



















