प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौमसत्तामै प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताच्यूत गर्ने षड्यन्त्र भइरहेको दाबी गरेसँगै नेपालको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन भारतीय राज्य संयन्त्र सक्रिय रहेको अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको हो । सीमा विवादका कारण दुई देशबीचको सम्बन्धमा फाटो देखिएकै समयमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

उहाँको अभिव्यक्तिमाथि विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । प्रधानमन्त्री ओलीले मदन भण्डारी मेमोरियल फाउन्डेसनले ६९ औँ मदन जयन्तीका सन्दर्भमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा आफूलाई हटाउन भारतीय राज्य संयन्त्रले सक्रियता बढाएको अभिव्यक्ति दिनुभएको थियो । ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा जारी भएपछि भारतले भारतीय मिडियामार्फत आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको दाबी गर्नुभएको थियो । नेपालको नक्सा छापेर संविधान संशोधन गरेबापत प्रधानमन्त्री हटाउने सपना नदेख्नसमेत उहाँले भारतलाई चेतावनी दिनुभएको थियो । 

‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदैछ, भारतका मिडिया सुन्नु भएको होला । भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको थियो । 

नेकपाभित्रै टीका–टिप्पणी

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिबारे विभिन्न टीका–टिप्पणी भइरहेका छन् । स्थायी कमिटी सदस्यहरूले मंगलबार बालुवाटारमा बस्ने बैठकमा उहाँको अभिव्यक्तिका बारेमा सशक्त ढंगबाट कुरा उठाउने तयारी गरेको स्रोतको भनाइ छ । 

नेकपाका नेता रघुजी पन्तले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति उपयुक्त नदेखिएको प्रतिक्रिया दिनुभएको छ । ‘उपयुक्त अभिव्यक्ति भएन । बाँकी कुरो भोलि (मंगलबार) राख्छु,’ उहाँले हिमालय टाइम्ससँग संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

नेकपाका सांसद पशुपति चौलागाईंले भारतीय राज्य संयन्त्रको चाहनाले सरकार नफेरिने प्रतिक्रिया दिनुभएको छ । नेपाली जनताले निर्माण गरेका सरकार नेपाली जनताको भावनाअनुसार चल्नुपर्ने भन्दै उहाँले भारतीय संयन्त्र सरकार बदल्ने खेलमा लागे भन्दैमा आत्तिन नहुनेमा जोड दिनुभयो । 

प्रधानमन्त्री ओलीले सूचना पाएरै सरकार परिवर्तनका बारेमा अभिव्यक्ति दिएको हुनुपर्ने भन्दै उहाँले भारतीय राज्य संयन्त्रले चाहना राख्दैमा सरकार परिवर्तन नहुने दाबी गर्नुभयो । ‘सरकार परिवर्तन गर्न लागे भन्दैमा अत्तालिएर जानु पर्दैन । उनीहरूको चाहनाले सरकार फेरिँदैन, फेरिए पनि चाहना पूरा हुँदैन,’ सांसद चौलागाईंले भन्नुभयो । 

रुवाबासी गर्नु शोभनीय भएन : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रस्ट्याउनुपर्ने बताउनुभएको छ । उहाँले ट्वीटरमार्फत नेकपालाई दुईवटा प्रश्न गर्दै भारतको राज्य संयन्त्रले प्रधानमन्त्री पदबाट हटाउन खोजेको ओलीको अभिव्यक्तिलाई प्रस्ट्याउन माग गर्नुभएको हो ।

‘भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रस्ट्याउन जरुरी छ,’ प्रवक्ता शर्माले नेकपालाई प्रश्न गर्नुभएको छ, ‘प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसद्मा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन ? छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेकउपर नेकपाको स्वतन्त्र हक के सुरक्षित छैन ?’ 

सरकार कोरोनासँग जुध्न असफल भएपछि जनताले परिवर्तन खोज्दा सहयोद्धाहरूले पद जोगाइदिएको स्मरण गराउँदै कांग्रेस प्रवक्ता शर्माले पद जोगाउने सहयोद्धाहरूलाई धन्यवाद दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ । 

‘कोरोनासँग जुध्न असफलतापछि जनताले परिवर्तन खोजेका छन्, सहयोद्धाहरूले जोगाइदिए तिनलाई धन्यवाद दिनोस् । बिदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनोस् । हटाउन लागे भनेर सार्वजनिक रुवाबासी गर्नु शोभनीय भएन ! थैली राम्रोसँग नबाँध्ने छिमेकीलाई दोष लगाउने, पद सुहाउँदो भएन,’ उहाँले दोस्रो ट्वीटमा भन्नुभएको छ । 

यस्तै, प्रवक्ता शर्माले तेस्रो ट्वीट गर्दै भारतद्वारा अतिक्रमित भूमि समेटेर संसद्बाट पारित नक्सा प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी नभएको पनि जिकिर गर्नुभएको छ । देशको नयाँ राजनीतिक नक्सा प्रधानमन्त्री ओलीले दिएको व्यक्तिगत अटोग्राफ नभएको प्रवक्ता शर्माको टिप्पणी छ । 

‘सिंगो देश एकढिक्का उभिएर संसद्बाट सर्वसम्मत पारित नक्साको जग्गा फिर्ता गराउने कूटनीतिक पहलको च्याप्टर क्लोज गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनीतिक छ न कूटनीतिक,’ प्रवक्ता शर्माले ट्वीटमा भन्नुभएको छ ।

कमजोर र हतास मनस्थितिको परिचायक : राप्रपा

परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जायज कुरामा जनता र दलहरूले सधैँ सरकारलाई साथ दिइरहेको स्मरण गराउनुभएको छ । विदेशीको मुख हेरेको भए संसद्बाट सिमानासम्बन्धी प्रस्ताव निर्विरोध पारित नहुनेतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

‘नयाँ नक्साको बारेमा तपाईंको पार्टी तथा आमनेपाली जनताले तपाईंलाई साथ दिएका छन्, विचार गर्नुस् । कुनै विदेशीको मुख हेरेको भए यो एकता सम्भव हुने थिएन र संसद्बाट सिमानासम्बन्धी प्रस्ताव निर्विरोध पारित हुने थिएन,’ सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ, ‘यो भनाइले तपार्इं सबै नेपाली जनताको अपमान गर्दै हुनुहुन्छ, आफूबाहेक अरू सबैलाई विदेशीबाट सञ्चालित छन् भन्ने दृष्टिकोण तपाईंको कमजोर र हतास मनस्थितिको परिचायक हो ।’

‘अमर्यादित र गैरजिम्मेवार अभिव्यक्ति’

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले नेपाल–भारत सम्बन्ध झन् बिग्रँदै जाने कूटनीतिज्ञहरूको दाबी छ । पूर्वराजदूत डा. विजयकान्त कर्णले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘छिछोरापन’ को संज्ञा दिँदै अनैतिक, अभद्र र अमर्यादित अभिव्यक्तिले नेपाल–भारतबीचको सम्बन्ध बिगँ्रदै जाने दाबी गर्नुभयो । 

प्रधानमन्त्री ओलीको अभिव्यक्ति कूटनीतिक मर्यादाभित्र पर्छ कि पर्दैन भन्ने हिमालय टाइम्सको प्रश्नमा उहाँले भन्नुभयो, ‘कुनै पनि मर्यादाभित्र पर्दैन, न कूटनीतिक, न राजनीतिक । अनैतिक, अभद्र र अर्मादित अभिव्यक्ति हो । छिछोरापन भन्छ क्या, यस्तो साह्रै तल्लो श्रेणीको कुरालाई ।’

पूर्वराजदूत कर्णले प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सम्बन्धलाई योजनाबद्ध ढंगले बिगार्न खोजेको समेत जिकिर गर्नुभयो । ‘उहाँ (प्रधानमन्त्री) ले नेपाल–भारत सम्बन्धलाई जानीजानी योजना बनाएर यसरी बिगार्दै हुनुहुन्छ कि पछि कसैले सुधार्नै नसकोस्,’ उहाँले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले नेपाललाई पाकिस्तानी मोडलमा लैजान खोजेको उहाँको आरोप छ । ‘कहिले संसद्मा, कहिले कतै, न प्रमाण पेश गर्नु छ, न केही । खाली आरोप मात्रै । उहाँले देशलाई पाकिस्तानी मोडलमा लान खोज्दै हुनुहुन्छ,’ पूर्वराजदूत कर्णले थप्नुभयो, ‘यस्तो भाषा त चीनको राष्ट्रपतिले समेत भारतीय प्रधानमन्त्रीलाई प्रयोग गर्न सक्दैनन् । यस्तो भाषा बोल्ने त केवल पाकिस्तान मात्रै हो ।’

कूटनीतिज्ञ डा. दिनेशचन्द्र भट्टराईले पनि प्रधानमन्त्रीका अभिव्यक्ति कूटनीतिक मर्यादाअनुकूल नभएको दाबी गर्नुभयो । ‘पहिलो कुरा त यस्तो अभिव्यक्ति प्रधानमन्त्री आफैँले दिने नै होइन,’ उहाँले भन्नुभयो, ‘यस खालको सन्देश बाहिर ल्याउन जरुरी नै हो भने पनि प्रधानमन्त्री आफैँ अघि सरेर बोल्नै पर्दैन नि, उहाँका सहयोगी तथा सल्लाहकारलाई बोल्न लगाए भइहाल्छ नि ।’ कूटनीतिको आफ्नै मूल्य, मान्यता, सीमा, समय र शैली हुने उहाँले बताउनुभयो ।

उहाँले प्रश्न गर्नुभयो, ‘यत्रो बहुमतको सरकार, अर्काको मुलुकको संयन्त्र सक्रिय हुँदा हल्लिने कस्तो कमजोर हो ? प्रधानमन्त्रीकै नेतृत्वको राज्य संयन्त्र कहाँ छ ? के गरिरहेको छ त ? उहाँको नेतृत्वको राज्य संयन्त्र किन सक्रिय भएन ?’