एमसिसीबारे चाँडै निर्णय गर्न अमेरिकी दूतावासको सुझाव

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदनका बारेमा चाँडो निर्णय लिन सुझाव दिएको छ । दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै एमसिसी अन्तर्गतको सम्झौता नेपालको संसदबाट अझै अनुमोदन नभएकोबारे आफू जानकार रहेको भन्दै सम्झौता अन्तर्गतको अनुदान उपलब्धता सदा खुला नरहने प्रष्ट्याएको छ । दूतावासले नेपाललाई एमसिसीका बारेमा निकट भविष्यमै ठोस निर्णय लिन पनि सुझाव दिएको छ । 

तीन वर्षअघि नेपालले एमसिसी सम्झौतामा औपचारिक रुपमा हस्ताक्षर गरेको थियो । उक्त सम्झौता असार १६ सम्ममा कार्यान्वयनमा गइसक्नुपर्ने प्रावधान राखिएको छ । यद्यपि संसदमा दर्ता भएको उक्त सम्झौता संसद बैठकमा भने पेश भइसकेको छैन ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण उक्त सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्नेबारे सरकार ठोस निष्कर्षमा पुग्न सकेको छैन । 

‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन,’ दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘यो कार्यक्रमको व्यवहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन् ।’