बाढीसँगै त्रिशुली नदी किनारामा दाउरा संकलन गर्ने बढे

धादिङ । बर्षासँगै नदी तथा खोलाहरुमा बाढी आएपछि त्रिशुली नदी किनारामा दाउरा संकलन गर्नेहरुको निकै भिड लाग्न थालेको छ । यस बर्ष असारको दोस्रो साता देखि मनसुन (पानी) पर्न थालेपछि खोला तथा नदीहरुमा बाढीले बगाएर ल्याएको दाउरा टिप्नेहरुको भीड लागेको हो ।  थपल खोला, आँसी खोला र त्रिशुली नदीमा बाढी आएपछि दाउरा विक्रि गरी आफ्नो जिविका धान्दै आएकाहरु निकै खुसी भएका छन् । त्रिशुली नदीको भेलमा ज्यान नै जोखिममा राखेर दाउरा निकाल्ने र आफ्नो घर खर्च धान्ने धादिङ तथा पृथ्वीराजमार्ग क्षेत्रका कयौं मानिसहरु रहेका छन् । 

मजदुरी काम गरी आफ्नो परिवार पाल्दै आएका उनीहरु लकडाउनका कारण करिब ३ महिनादेखि काम बिहीन बन्दा बिहान बेलुकीको छाक टार्न समेत धौ–धौ भएको बताउँछन् । लकडाउनका कारण मजदुरी गर्नेहरुको लागि काम नभएको समयमा खोला तथा नदीमा बाढीले बगाएर ल्याएको दाउरा संकलन गरी विक्री वितरण गर्ने गरेको धादिङका एक मजदुरले बताए ।

कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ज्याला मजदुरी गर्ने ठाँउहरु बन्द भएपछि उनीहरु समस्यामा परेका हुन् । उनीहरुले बाढीले बगाएर ल्याएको दाउरा संकलन गरी विक्री वितरणबाट मात्र मासिक ५० हजारसम्म आम्दानी लिने गरेका छन् । वर्षाको समयमा खोला तथा नदीमा बाढीले बगाएर ल्याएको दाउरा तिन महिनासम्म संकलन गरी करिव ६ महिनालाई खान पुग्ने उनीहरुको भनाइ छ ।