काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शनिबार राति अबेर सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । कांग्रेसको यो निर्णयसँगै संविधान संशोधन विधेयक संसदको दुई तिहाई मतबाट पारित हुने निश्चित देखिएको छ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित भारतद्वारा अतिक्रमित भूभागलाई समेटेर हालै जारी गरेको अद्यावधिक नक्सालाई संविधानको अंग बनाउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो । उक्त प्रस्तावको पक्षमा मतदान गर्न कांग्रेस केन्द्रीय समिति बैठकले संसदीय दललाई निर्देशन दिएको सांसद गगन थापाले बताउनुभयो ।
बैठक सकिएलगत्तै केन्द्रीय सदस्य एवं सांसद थापाले ट्वीट गर्दै भन्नुभएको छ, ‘ल बैठक सकियो, परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन ।’
कांग्रेसले संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गर्नका लागि पहल गर्न समेत सरकारलाई आग्रह गरेको छ । कांग्रेसले नेपाल र भारतबीचको सीमा विवाद समाधानका लागि कूटनीतिक संवाद जारी राख्नुपर्ने ठहरसमेत गरेको छ । यसका लागि पार्टीले समेत पहल गर्ने कांग्रेसले जनाएको छ ।
यसअघि जेठ ११ गते बसेको कांग्रेस पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरे पनि औपचारिक निर्णयका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको थियो ।
यसैबीच सरकारले आइतबार संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गर्ने भएको छ । संघीय संसद सचिवालले आइतबार बस्ने प्रतिनिनिधि सभा बैठकको सम्भावित कार्यसूची शनिबार जारी गर्दै संविधान संशोधन विधेयक पेश हुने जनाएको हो ।
आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।
यसअघि सरकारले गत जेठ १४ गतेको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने कार्यसूची रहे पनि अन्तिम समयमा उक्त कार्यसूची हटाइएको थियो । संविधान संशोधन विधेयक पेश गर्ने कार्यसूची हटाइएकोमा सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप नै चलेको थियो ।




















