६ जनाकै शव फेला
रुकुम । रुकुम पश्चिमको चौरजहारी गाउँपालिका सोतीमा भएको घटनाका बेपत्तामध्ये सबैको शव फेला परेको छ । शनिबार थप एक जना युवकको शव फेला परसँगै बेपत्ता ६ जनाकै शव भेटिएको हो । सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार गोविन्द शाहीको शव फेला पारेको हो । बेपत्ता भएका भेरी नगरपालिका–४ का १९ वर्षीय गोविन्दको शव सुर्खेतको मेलकुनामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिनुभयो ।
जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि केटी लिन आएको बेला भएको घटनामा ६ जना बेपत्ता भएका थिए । यसअघि जाजरकोटका भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सोही ठाउँका गणेश बुढा, लोकेन्द्र शाही र चौरजहारीका टिकाराम सुनारको शव फेला परेको थियो ।
गोविन्दबाहेक अरु सबैको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको छ ।
यसैबीच, रुकुम घटनामा मारिएका ५ जना युवाको पोष्टमार्टम रिपोर्टले उनीहरूको मृत्यु कुटपिटबाट भएको देखाएको छ । जाजरकोट अस्पतालमा उनीहरूको पोष्टमार्टम गरिएको थियो । पाँचै युवकको मृत्यु कुटपिटबाट भएको ठहर चिकित्सकले गरेका हुन् । मृतक सबैको टाउको, अनुहारसहित शरीरका विभिन्न अंगमा चोट देखिएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्मसिंह बिष्टले जानकारी दिनुभयो ।
‘मृतकहरूको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ पोष्टमार्टममा संलग्न एक चिकित्सकले भने, ‘नदीमा बगे पनि उनीहरूको पेटमा पानी भरिएको छैन ।’ नदीमा डुबेर मृत्यु भएका मानिसले पानी खाएर पेट भरिएको हुनुपर्छ । तर, रुकुम घटनामा मारिने कुनै पनि युवामा त्यस्तो नदेखिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । जाजरकोट अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पनि पठाएको छ ।




















