संविधान संशोधन आवश्यक छ : दाहाल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको आवश्यकता औँल्याएका छन् । पार्टीको भ्रातृ संगठन आदिवासी जनजाति महासंघको शपथग्रहण कार्यक्रममा सम्बोधन गर्दै दाहालले उक्त कुरा बताएका हुन् । 

दाहालले नेपालमा अझै जातीय मुक्ति नभएकाले संविधान संशोधन गरेर भए पनि यसका लागि अगाडि बढ्ने बताए । जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन गरेर भए पनि अगाडि बढ्ने उनले बताए । उत्पीडित वर्ग, जाति तथा समुदायहरू अझै पनि पूर्णरूपले मुक्त हुन नसकेको पनि उनले बताए । दाहालले विकास र समृद्धिको यात्रा सामाजिक व्यवस्थासहित समाजवादतिर अगाडि बढाउँदै गए मात्रै सोचेजस्तो समानता प्राप्त हुने धारणा व्यक्त गरे । साम्राज्यवाद र सामन्तवादका विरुद्धको लडाइँ जितेको भए पनि अझै समानताको पूरै लडाइँ जित्न बाँकी रहेको र यसका लागि मिहिनेत गरी एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । 

नेकपा सबै खालका विभेद अन्त्य गरी सबैको हक अधिकारका सुनिश्चित गर्न सदैव तयार रहेको दाहालले बताए । उनले भने, ‘उत्पीडित समुदाय पूर्णरूपमा मुक्त हुने वातावरण अझै बनेको छैन । एकताबद्ध भई शान्तिपूर्ण रूपले संविधान संशोधनको माध्यमबाट हामीले सोचे खोजेजस्तो मुक्ति हासिल गर्न सक्छौँ ।’ 

पुँजीपतिहरू र साम्राज्यवादीहरूले साम्प्रदायिक विद्वेष फैलाउने र जातिजातिबीच लडाइँ गराउने नीति र कम्युनिष्टहरूले अघि सारेको जातीय हक अधिकारको कुरा, जातीय मुक्तिको कुरा फरक भए पनि बुर्जुवाहरूले यसलाई गोलमाल गर्ने गरेको दाहालले बताए । उनले भने, ‘कम्युनिष्टले अगाडि सार्ने गरेको समाजवादी क्रान्ति र जातीय क्रान्तिको कुरालाई साम्राज्यवादीले जातीय संकीर्णता, साम्प्रदायिकता र विद्वेष फैलाउने षड्यन्त्रसँग मिलाउने गरेका छन् । आदिवासी जनजाति महासंघले जातीय हक अधिकारको कुरा साम्प्रदायिक होइन समानता र मुक्तिको कुरा हो भनेर बुझाउन आवश्यक छ ।’ 

दाहालले कार्यक्रममा नवगठित कार्यसमिति शपथ गराएका थिए । तत्कालीन नेकपा (एमाले) को नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र नेकपा (माओवादी केन्द्र) आदिवासी जनजाति राष्ट्रिय महासंघबीच एकता भई २६१ सदस्यीय आदिवासी जनजाति महासंघ नेपाल बनेको हो ।