काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथपछि कार्यभार सुरु गरेका छन् । शीतल निवासमा उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिए ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सापकोटा सभाम्ुख पदमा निर्विरोध निर्वाचित भएका थिए । उनले मंगलबार प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने विषयमा सबै सांसदहरूको धारणा समेटेर अगाडि बढ्ने बताए । एमसीसीका विषयमा बाहिर बहस चलिरहे पनि आफूले अध्ययन गर्नै बाँकी रहेको र अध्ययनपछि मात्रै केही भन्न सक्ने अवस्था हुने उनले बताए । उनले एमसीसीमा हतार गर्नु नपर्ने पनि बताए ।
‘अहिले त भर्खर सभामुख भएको छु । त्यो अध्ययन गर्नुप¥यो भित्र हेर्नुप¥यो । अहिले बाहिर बहस भइरहेको छ, उनले भने, ‘ठीक छ मैले सुनिरहेको छु तर भित्र पसेर हेरेपछि मैले के हुन्छ भनेर भन्न सक्ने हो ।’ उनले एमसीसीका लागि हतार गर्नु नपर्ने र सबै अध्ययन गरेर निर्णय हुने बताए ।
एमसीसीबारे सत्तारूढ नेकपामा दुई धार देखापरेको छ । पूर्व–माओवादीहरू र पूर्व–एमालेको एउटा हिस्सा विपक्षमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली चाँडो पारित (अनुमोदन) गराउने पक्षमा छन् । उनले तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसीसी अनुमोदन गर्न सहयोग नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए । सापकोटाले आफ्नाविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई स्वाभाविक रूपमा लिएको बताए । लोकतान्त्रिक प्रक्रियामा विरोध र समर्थन हुनु स्वाभाविक भएको बताए । ‘यो लोकतन्त्र हो । लोकतान्त्रिक प्रक्रियामा चलिरहने प्रक्रियाको हो भनेर मैले यसलाई लिएको छु,’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कुदेर गएको भन्दै सामाजिक सञ्जालमा भइरहेको आलोचनाका विषयमा सापकोटाले अन्यथा नलिन आग्रह गरे । शपथग्रहणपछि सबैको साझा भए पनि सभामुख बनाउने पार्टीको अध्यक्ष, दलको नेतालाई भेट्नु स्वाभाविक भएको उनले बताए ।
संसद्को मूल्य–मान्यताअनुसार नै आफूले प्रधानमन्त्रीलाई भेटेको र सुरुमा उनीबाटै बधाई लिन चाहेको सापकोटाको भनाइ छ । ‘आज मैले शपथग्रहण गरेँ र आजबाट म सबैको साझा भएँ । योभन्दा पहिले मेरालागि प्रधानमन्त्री मात्र होइन उहाँ मलाई सभामुख बनाउने पार्टीको अध्यक्ष र दलको नेता पनि हो,’ सापकोटाले भने, ‘संसद्मा त्यतिबेला मैले प्रधानमन्त्रीबाट भेट सुरु गर्न खोजेको थिएँ । यो स्वाभाविक हो । संसदीय मूल्य, मान्यता र पद्धतिको गरिमासँग मेल खान्छ ।’
सभामुख सापकोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सबै जिम्मेवारी त्यागेका छन् । उनले सोमबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभामा सभामुखको भूमिका स्वतन्त्र तथा निष्पक्षरूपमा निर्वाह गर्नका लागि आफू नेकपाको साधारण सदस्यबाट पनि अलग भएको जानकारी गराएका छन् ।




















