दयाहाङ र पललाई लिएर ‘२ नम्बरी’ बन्ने

काठमाडौं । महिनामा कम्तीमा पनि एक चलचित्रको निर्माण घोषणा भइरहेको समयमा अर्को एक चलचित्र बनाउने घोषणा गरिएको छ । ‘२ नम्बरी’ नाममा नयाँ चलचित्र निर्माण हुने सोमबार राजधानीमा एक कार्यक्रमबीच जानकारी दिइयो । अन्य चलचित्रभन्दा यो चलचित्रलाई विशेष रूपमा हेर्न थालिएको छ, कारण यसका निर्देशक तथा कलाकार ।

यस वर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले ‘२ नम्बरी’ निर्देशन गर्नेछन् । यस्तै, चलचित्रमा दर्शकले निकै मन पराएको अभिनेताद्वय दयाहाङ राई र पल शाहको मुख्य भूमिका रहनेछ । यस्तै, चलचित्रमा अभिनेत्री वर्षा राउत पनि रहेकी छिन् । 

चलचित्रमा निर्देशक लामाकै कथा रहनेछ । दुई साथीको कथामा चलचित्र निर्माण हुने बताइएको छ भने छायांकन माघ अन्तिम साताबाट छायांकन सुरु हुने जानकारी दिइयो । चलचित्रको प्रदर्शन भने आउँदो वर्षको जनैपूर्णिमामा गरिने बताइएको छ । ‘दुई नम्बरी भनेपछि हामीले कालो धन्दाको रूपमा बुझ्छौं । कालो कारोबारको प्रसंग पनि फिल्ममा जोडेका छौं । सामान्य रूपमा हामीले दुई नम्बरी भनेको जे बुझ्छौं त्योभन्दा केही फरक–फरक डाइमेन्सन जोड्ने प्रयास गरेका छौं,’ निर्देशक लामाले भनेका छन् । 

रेड वर्ड प्रोडक्सन र आरआएर फिल्म प्रोडक्सनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रूपमा रहने यो चलचित्रमा बुद्धि तामाङको पनि मुख्य भूमिका रहनेछ । ‘नेपाली समाजमा दुई नम्बरीलाई नकारात्मक रूपमा लिइन्छ । तर, लाहुरे समुदायमा नम्बरीलाई साथीको हिसाबमा हेरिन्छ,’ दयाहाङले भने, ‘फिल्म ‘२ नम्बरी’ को नामलाई चाहिँ सकारात्मक अर्थात् साथीको हिसाबले बुझौं ।’ फिल्ममा उनी र पल साथीको भूमिकामा देखिँदैछन् । दयाहाङसँग पहिलो पटक काम गर्ने अवसर पाएकोमा अभिनेता पल आफूलाई भाग्यमानी ठान्छन् । 

त्यस्तै, अभिनेत्री वर्षाले फिल्ममा आफ्नो फेमिलिजम (महिला प्रधान) खालको भूमिका नभए पनि दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरिन् । उनले आफूले २ वर्षसम्म फेमिलिजम टाइपको फिल्म कुरेर बसे पनि अफर नआएको गुनासो गरिन् ।