चिनियाँ पक्राउ प्रकरण : चीनलाई पनि थियो जानकारी

काठमाडौं । चिनियाँ नागरिकहरूले नेपालमा बसेर चीनमा आपराधिक गतिविधि गरिरहेको विषयमा नेपाल र चीनका उच्च प्रहरी अधिकारीहरूबीच हालै चिलीमा छलफल भएको खुलेको छ । गत असोज २९ देखि कात्तिक १ गतेसम्म चिलीमा आयोजित इन्टरपोलको ८८औं महासभामा दुई देशका उच्च सुरक्षा अधिकारीहरूबीच यस विषयमा छलफल भएपछि प्रहरीले चिनियाँ नागरिकलाई विशेष निगरानी राख्न थालेको थियो ।  महासभामा सहभागी चिनियाँ इन्टरपोलका प्रमुख डाकिन डुवानले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई चिनियाँ नागरिकले नेपालमा बसेर चीनमा आपराधिक गतिविधि सञ्चालन गरिरहेको खुलेकाले त्यसबारेमा अनुसन्धान गर्न आग्रह गरेका थिए ।

‘चिनियाँहरूले नेपालमा बसेर चीनमा आपराधिक गतिविधि (खासगरी आर्थिक अपराध) सञ्चालन गरिरहेकाले त्यसबारे डाकिनले निगरानी राख्न हामीलाई अनुरोध गर्नुभएको थियो,’ महासभामा सहभागी नेपाल प्रहरीका सहायक प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले भने, ‘त्यसपछि चिनियाँ नागरिकमाथि निगरानी बढाइएको हो ।’

प्रहरी महानिरीक्षक खनालले महासभाबाट फर्किएपछि चिनियाँ नागरिकमाथि प्रहरीले निकै महत्व दिएर निगरानी बढाएको बताए । एक महिना लामो अनुसन्धानपछि प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । जसमा आठजना महिला छन् । पर्यटक भिसामा नेपाल आएर गैरकानुनी गतिविधिमा संलग्न भएको आशंकामा उनीहरू पक्राउ परेका हुन् । 

‘चिनियाँहरूबाट तीन सयभन्दा बढी ल्यापटप, मोबाइल र विभिन्न किसिमका तार बरामद भएकाले उनीहरू कुनै न कुनै आपराधिक क्रियाकलापमा संलग्न भएको देखिन्छ,’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक नीरजबहादुर शाहीले भने, ‘उनीहरू पर्यटक भिसामा आएर घर भाडामा लिई ब्यारेकको संरचनामा बसेका थिए, हामी अनुसन्धान गर्दैछौं ।’ कतिपयसँग राहादानीसमेत नभएको शाहीले बताए । उनीहरू कहिले नेपाल आए भन्नेबारेमा विमानस्थलबाट जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले गरेको अपराधअनुसार नेपालमै कानुनी कारबाही हुने शाहीले स्पष्ट पारे । 

यसैबीच, चिनियाँ समाचार संस्था ‘साउथ चाइना मर्निङ पोस्ट’ ले नेपालमा चिनियाँ नागरिक पक्राउ परेको घटनाप्रति चीन सरकारले चासो दिएको जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता गेञ्ज सुहाङले चिनियाँ र नेपाल प्रहरीको सहकार्यमा उनीहरू पक्राउ परेका बताएको समाचारमा उल्लेख छ । 

‘साउथ चाइना मर्निङ पोस्ट’ का अनुसार चीन सरकारले छिमेकी मुलुकसँगको सहकार्यमा कानुनको कार्यान्वयन गर्न चाहेको उल्लेख छ । गत साता मात्रै फिलिपिन्समा ३४२ चिनियाँ कामदारहरू पक्राउ परेका थिए । उनीहरूलाई फिलिपिन्सको प्रहरीले गैरकानुनी जुवा खेलाउने धन्दामा संलग्न भएको पाएपछि पक्राउ गरेको बताइएको छ । 

५ दिन थुनामा राख्न अनुमति

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबार पक्राउ परेका चिनियाँ नागरिकको समूहलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । प्रशासन कार्यालयले मंगलबार उनीहरूलाई अभद्र व्यवहार मुद्दामा पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।

सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका चिनियाँ नागरिकलाई थुनामा राखेर थप अनुसन्धान गर्न प्रशासनले म्याद दिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक होवीन्द्र बोगटीले जानकारी दिए ।