बुद्ध वर्न इन नेपालको विशेष शो

काठमाडौं । एसिड पीडित मुस्कान खातुनको सहयोगका लागि नेपाली चलचित्र ‘बुद्ध वर्न इन नेपाल’को विशेष शो आयोजना गरिएको छ । चार वर्षअघि हलमा प्रदर्शन भइसकेको यो चलचित्र ‘लाइन्स क्लब अफ काठमाडांै’ को नेतृत्वमा मुस्कानलाई सहयोग गर्ने उद्देश्यले सोमबार आयोजीत विशेष शोमा राननितिज्ञ तथा चलचित्रकर्मीको उपस्थिति थियो । विशेष शोबाट उठेको रकम मुस्कानको उपचारका लागि दिइएको छ ।

अबको केही दिनमा विशेष शोबाट उठेको रकम र थप केही रकम जोडेर मुस्कानलाई हस्तान्तरण गरिने आयोजक संस्था लाइन्स क्लबले बताएको छ । चलचित्रको विशेष शोमा उपस्थित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुस्कानलाई सबैले सहयोग गर्नुपर्ने बताए । नेपाललाई एसिड हान्नेलाई फासी दिने निर्णय ल्याउन सकिन्छ कि नाई भन्ने सञ्चारकर्मीको प्रश्नमा उनी भन्छन्, ‘म योभन्दा अघि संविधान बनाउने क्रममा अन्य साथीहरूसँगै थिए । माफीको कुरा नउठेको होइन तर मानव अधिकारकर्मीका साथीहरूले माफीको कानुन उपर्युक्त नहुने बताएका कारण बन्न सकेन । तर एसिड हान्नेलाई कडा कारबाही हुनैपर्छ ।’ मुस्कानको पढाइमा सरकार समक्ष सहयोगको कुरा गर्ने उनले विश्वास दिलाए ।

विशेष शोमा यो चलचित्रका नायक तथा निर्माता रमित ढुंगाना पनि उपस्थित थिए । चलचित्र हेर्न मुस्कान पनि हलमा पुगेकी थिइन् । चलचित्र हेरेपछि मुस्कानले भनिन्, ‘मलाई अहिलेसम्म धेरैजनाले सहयोग गर्नुभएको छ । सहयोगका लागि सम्पूर्णलाई धन्यवाद । तपाईंहरूको सहयोगले मैले लक्ष्य भेट्नेछु ।’ मुस्कानले आफूलाई एसिड हान्नेलाई जन्मकैदको सजाय मागिन् ।