आन्दोलनको घोषणा गर्दै सकियो टीकापुरको सम्मेलन/ मोर्चाको कमाण्डरमाः-लक्ष्मण थारु

लखन चौधरी ,,

टीकापुर := थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहटरथारुवान राष्ट्रिय मोर्चा गठन गर्दै कैलालीको टीकापुरमा आयोजित ३ दिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सोमवार सम्पन्न भएको छ ।

टीकापुर घटना घटेकै अवधि ९भदौ ७, ८ र ९० मा देशभरका हजारौं थारुहरूको उपस्थितिमा चलेको सम्मेलनले सशक्त आन्दोलन सहितको थरुहटरथारुवानको आगामी कार्यदिशा तय गर्दै सम्पन्न भएको हो ।मोर्चाको प्रवक्ता मीनराज चौधरीका अनुुसार सम्मेलनले १५ बुँदे टीकापुर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

थरुहटरथारुवान आन्दोलनको क्रममा प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप हुँदा २०७२ भदौ ७ गते ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो भने भदौ ८ गते कर्फ्यू जारी भएकै अवस्थामा थारु समुदायका ८८ वटा घर, पसल, एफएमलगायत संरचनामाथि आगजनि भएपछि आन्दोलनमा शिथिलता आएको थियो ।सम्मेलनले पुुनः थरुहट आन्दोलनलाई नयाँ सिरामा पुर्‍याउनुको साथै पहिचान पक्षधरलाई एकताबद्ध गरेको घोषणा पत्रमा उल्लेख गरेको छ । बिग्रिएको भनिएको टीकापुरको सामाजिक सद्भाव मजबुत भएको र सद्भाव कायम गर्न राज्य नै तदारुकता अप्नाउन तथ्य सम्मेलनले पुष्टि गरेको पनि घोषणापत्रमा उल्लेख छ ।

तराई मधेशमा जारी आन्दोलनपछि छानबिन गर्न गठित गिरिशचन्द्र लाल सहितको विभिन्न प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई अबिलम्ब माग सो घोषणा पत्रमार्फत् माग गरिएको प्रवक्ता चौधरीले जानकारी दिए ।भदौ ८ गतेको दिन कर्फ्यू जारी भएकै अवस्थामा टीकापुरका थारु समुदायको भौतिक संरचनामा आगजनी गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने माग समेत गरिएको छ भने संघर्ष समिति र सरकारबीच विभिन्न समयमा भएको १३ बुँदे सहमति कार्यान्वयन गर्न जोडदार रुपमा सो घोषणा पत्रमार्फत माग गरिएको छ ।

यतिमात्रै नभई हालको ७ प्रदेशको संरचना कुनै पनि हालतमा नमान्ने उद्घोष गर्दै जातीय पृष्ठभूमिको आधारमा पहिचान सहितको १० जोड १ को थरुहटरथारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग सारिएको छ भने संघीय निजामती ऐन सशोधन गरी राज्यका सबै निकायमा जातीय जनसंख्याको आधारमा लोक सेवा आयोगले विज्ञापन जारी गर्नुपर्ने पनि सो घोषणापत्रमा उल्लेख भएको प्रवक्ता चौधरीले बताए ।आदिवासी जनजातिको सूचीमा सूचीकृत हुन बाँकी मूलबासी तथा जातिलाई सूचीकृत गर्नुपर्ने, माघी पर्वलाई राष्ट्रिय पर्वको रुपमा मानेर सार्वजनिक बिदा दिनुपर्ने, अष्टिम्की, अट्वारीलगायत पर्वमा प्रदेश सरकारले स्थानीय बिदा दिनुपर्ने माग गरिएको छ ।

मोर्चाले तराईका जिल्लामा मुठी दान अभियान सञ्चालन गर्ने भएको छ । थरुहट शहीद परिवार, घाइते, राजबन्दी तथा परिवारको भरणपोषण तथा आश्रित बालबालिकाको शिक्षा दीक्षाको लागि थरुहट मुठीदान अभियान चलाउने सो घोषणा पत्रमा उल्लेख छ ।

३ चरणको आन्दोलनको रुपरेखा:

सम्मेलनले ३ चरणको आन्दोलनको कार्यदिशा समेत तय गरेको छ । पहिलो चरण अन्तर्गत तराई जिल्लामा प्रचारात्क तथा संगठन विस्तारको कार्यक्रम अगाडि बढाउने भएको छ ।दोसो चरणमा कोणसभा, विरोधसभा, र्‍याली, जनप्रदर्शनका कार्यक्रमलाई मोर्चाले तराईका जिल्लामा सशक्त रुपमा सञ्चालन गर्ने रणनीति तय गरेको छ । सोहीबीचमा तराईको जिल्लाको १० ठाउँमा आमसभा गर्ने जनाएको छ तर ठाउँ र समय भने तय हुन बाँकी रहेको प्रवक्ता चौधरीले लोकान्तरलाई बताए ।

यसैबीच कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन लगाई तराई क्षेत्रस्थित विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई ‘पेन डाउन’ गर्न लगाउने कार्यक्रम पनि मोर्चाले अँगालेको छ भने तराई क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधन, मालबाहक साधनमा थरुहटरथारुवान प्रदेश अंकित स्टिकरण टाँस्नेरटाँस्न लगाउने र नटाँसेमा सो सवारी साधन सञ्चालनमा रोक कार्य गर्ने पनि जनाएको छ ।मोर्चाले संविधान जारी भएको असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने जनाएको छ । संविधानमा रहेका असहमति र विरोध रहेका धारा र उपधारालाई तराईका जिल्लामा विभिन्न कार्यक्रम गरी जलाएर कालो दिन मनाउने रणनीति लिइएको हो । सो दिन मोर्चाले थरुहट युवा दस्ता समेत प्रदर्शन गर्ने प्रवक्ता चौधरीले उद्घोष गरे ।

मोर्चाले आफ्नो तेस्रो चरणको कार्यक्रम अन्तर्गत थारु बहुल क्षेत्रमा लाठी जुुलुुश, मसाल जुुलुुश प्रदर्शन गर्ने, सरकारलाई असहयोग आन्दोलन गर्ने अभियान सञ्चालन गर्ने भएको छ । यसैक्रममा सरकारलाई आफ्नो माग पूरा गराउन अल्टिमेटम दिई सो असहयोग आन्दोलन गर्ने कार्यदिशा तय गरेको मोर्चाले जनाएको छ ।

को हुन् मोर्चाका संयोजक लक्ष्मण थारु:

सम्मेलनबाट गठित मोर्चाको संयोजकमा चुनिएका थरुहट नेता लक्ष्मण थारु टीकापुर घटनाको अभियोगमा ४२ महिना जेल जीवन बिताएर बाहिर आएका व्यक्ति हुन् । उनीलगायत २७ जनाले आफूहरूमाथि झूटा मुद्दा लगाइएको भन्दै जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन् भने सांसद रेशम चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

विक्रम संवत् २०३२ सालमा धनगढी उपमहानगरपालिका–१९ ९साविक फूलवारी गाविस–१ फूलवारीमा जन्मेका थारु २०४७ सालदेखि राजनीतिक गतिविधिमा सक्रिय छन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वमा उनी बिग्रेट कमिसार ९राजनीतिक आयुक्त० र थारुवान मुक्ति मोर्चाका महासचिव रहेका थिए ।

विस्तृत शान्ति सम्झौतापछि विद्रोह गरी थरुहट तराई पार्टी नेपालको स्थापना गरेका उनी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । जेल बसाइकै क्रममा फोरम लोकतान्त्रिकबाट राजीनामा दिएका थारु सम्पन्न आम निर्वाचनमा भने राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए ।

उनलाई टीकापुर घटनाको अभियोगमा २०७२ भदौ २३ गते भैरहवाबाट गिरफ्तार गरी कर्तव्य ज्यानलगायत मुद्दामा कारागार चलान गरिएको थियो।