काठमाडौं । अहिले चलचित्र ‘मारुनी’को टिम प्रचारप्रसारका लागि मोफसलमा छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको मुख्य भूमिका रहेको यो चलचित्रको टिम सबैभन्दा पहिले इटहरी पुगेको थियो । इटहरी चोकमा आयोजित कन्सर्ट ४ बजे सुरु हुने भनिएता पनि साँझको ७ बजेमात्र साम्राज्ञी र अभिनेता पुष्प खड्का पुगेका थिए । साम्राज्ञी आउने थाहा पाएर फ्यानले घन्टौ कुरेर उनको कार्यक्रम हेरेको निर्माण युनिटले जानकारी दिए । केही फ्यानले त बसेको होटमा समेत पुगेर साम्राज्ञीलाई भेटेको निर्माता पुनम गौतमले बताइन् ।
साम्राज्ञीको क्रेज बुझ्न र फिल्मको प्रचार गर्न ‘मारुनी’ युनिट कलाकारसहित मोफसल टुरमा निस्किएको थियो । निर्माण युनिट इटहरीपछि चितवन पुगेको थियो । चितवनको नारायणी किनारमा आयोजित कन्सर्टमा साम्राज्ञीलाई भिडबाट जोगाउन प्रहरी र बडीगार्डलाई धौ–धौ परेको थियो । साम्राज्ञीसँग तस्वीर खिचाउन फ्यान स्टेज चढेपछि भने उनले फिल्मको सम्वाद बोलेर खुसी पारेकी थिइन् ।
पोखराको कन्सर्ट भने पानीको कारण स्थगित भएको थियो । मोफसलमा साम्राज्ञीसँगै नायक पुष्प खड्का, निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, गायक कृष्ण काफ्ले सहभागी थिए । आयोजना गरिएको कन्सर्टमा अभिनेत्री साम्राज्ञीसँग सेल्फी खिचाउनेको भिड नै लाग्यो ।




















